विराट कोहली र एबी डे भिलियर्सजस्ता ब्याट्सम्यानका सामु बलिङ गर्नु कम चुनौतीपूर्ण थिएन ।' -सन्दीप लामिछाने

नयाँदिल्ली — ‘मेरा लागि यो भन्दा ठूलो अवसर अरू हुनै सक्दैन,’ इन्डियन प्रिमियर लिग (आईपीएल) मा आबद्ध पहिलो नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो ‘डेब्यु’ खेलपछि दिएको प्रतिक्रिया हो यो ।सन्दीपलाई उनको टिम दिल्ली डेयरडेभिल्सले रोयल च्यालेन्जर बैंग्लोर (आरसीबी) विरुद्ध मैदानमा उतारेको थियो । करिब डेढ महिनाको प्रतीक्षापछि आईपीएलको ४५ औं खेलमा सन्दीपले उक्त अवसर पाएका हुन् ।
यसले उनलाई विश्वकै सबैभन्दा चर्चित र महँगो क्रिकेट प्रतियोगिता खेल्ने पहिलो नेपालीसमेत बनायो । साथै आईपीएलमा खेल्न पाउने सबैभन्दा कम उमेरका विदेशी खेलाडीको सूचीमा उनी दोस्रो नम्बरमा परेका छन् । शनिबारको म्याचका लागि ‘प्लेइङ इलेभन’ को सूचीमा सन्दीपको नाम परेको सार्वजनिक हुनासाथ उनले म्याचमा कतिबेला बलिङ गर्न पाउने हो भन्ने जिज्ञासा र चासो नेपाल र भारत दुवै मुलुकका क्रिकेटप्रेमीमाझ भएको थियो ।
सन्दीपले कति ओभर पाउलान् ? उनले कस्तो बलिङ गर्लान् ? भन्ने कुरालाई चासोका साथ हेरिएको थियो । सबैलाई आश्चर्यमा पार्दै दिल्लीका कप्तान श्रेयस ऐय्यरले बलिङ आक्रमणको सुरुआत गर्ने अवसर पनि सन्दीपलाई नै दिए । यस अर्थमा पनि सन्दीपको पहिलो आईपीएल म्याच उनका लागि त झनै महत्त्वपूर्ण बन्न पुग्यो । कप्तान तथा पूरै टिमले उनीमाथि देखाएको भरोसा र विश्वास कम्ती चुनौतीपूर्ण थिएन । विपक्षी टिमको ब्याटिङ लाइनअप हेर्दा नै नाम चालेका बलरका कारण आङै सिरिङग पार्ने खालको थियो । त्यसमाथि सन्दीप उमेर र अनुभवका हिसाबले पनि काँचै थिए । उनकै टिममा पनि ट्रेन्ट बोल्ट, अमित मिश्राजस्ता विश्वकै धारिला बलर थिए । त्यसैले होला उनलाई कप्तान ऐय्यरले बलिङको सुरुवात गर्न हातमा बल दिएको दृश्य देखेर रंगशालामा भारतीय खेल पत्रकारहरू आफैंमा मुखामुख गर्दै थिए । सँगै उनीहरूको मुहारमा एउटा बेग्लै किसिमको कौतुहलता र आश्चर्यको भाव देखिन्थ्यो ।
Comments
Post a Comment