आमा छोरासहित सडक दुर्घटनामा तीनको ज्यान गयाे, छोरा उपचार गर्न लिएर हिडेकी आमाले उपचार गर्न नै नपाई बाटोमै प्राण त्याग गरिन


भक्तपुर- “नरुनुस् न आमा, नरुनुस् न दादा ।” स्कुल पोशाकमै रहेकी बालिकाले भक्तपुर अस्पतालको चौरमा आफू रुँदै आफ्ना आफन्तको आँसु पुछिदिँदै गरेको देख्दा अस्पताल परिसरमा झुम्मिएकाको आँखा रसाएका थिए।

दुर्घटनामा आमा र भाइ गुमाएकी लोकन्थलीकै ओम ज्ञान मन्दिरमा कक्षा १० मा पढ्ने १५ वर्षकी अनुजा घिमिरे स्कुलबाटै अस्पताल आएर रुँदै अरुलाई नरुन आग्रह गरेको देख्दा त्यहाँ नरुने कोही थिएन।काभ्रेको साँगाबाट आज करीब १२ः३० बजे तीव्र गतिमा आएको बा३ख ६६७४ नंको टिपरले अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ पलासेमा बा५६प १२२७ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको हो।

घटनामा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, दोलखा मेलुङ गाउँपालिका– ६ घर भई विगत १६ वर्षदेखि लोकन्थलीमा पसल सञ्चालन गरेर बस्दै आएकी ३६ वर्षीया सविता घिमिरे र उनको छोरा १३ वर्षीय अरविन घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

शवलाई भक्तपुर अस्पतालमा पठाइएको, ठक्कर दिने टिपरलाई प्रहरी वृत्त जगातीमा राखिएको र फरार रहेका चालकको खोजी भइरहेको उहाँले जानकारी दिए।

साँगामा रहेको नेपाल प्रहरी आवासीय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने छोरा बिरामी भएको खबर आएपछि छिमेकी हरिबहादुरलाई लिएर स्कुल पुगेर छोरालाई उपचारका लागि लैजाँदै गर्दा टिपरले ठक्कर दिएको थियो। छोराको उपचार नै गर्न नपाई आमा छोराको एकैपटक ज्यान गयो।

Comments