कोलकाताले राजस्थानलाई हरायो, फाइनल प्रवेशका लागि हैदराबादसँग भिड्ने



एजेन्सी । कोलकाता नाइट राइडर्सले एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाउन सफल भएको छ । अब फाइनलको स्थानका लागि दोस्रो क्वालिफायर्समा एलिमिनेटरको विजेता कोलकाता र पहिलो क्वालिफायर्समा पराजित सनराइजर्स हैदराबाद भिड्नेछन् ।

कोलकाताको घरेलु मैदानमा भएको खेलमा राजस्थानले टस जित्दै बलिङ गर्ने निर्णय गरेको थियो । कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । कप्तान दिनेश कार्तिकले सर्वाधिक ५२ रन बनाए भने एण्ड्रेउ रसेल ४८ रनमा अविजित रहे ।

१ सय ७० रनको लक्ष्य पाएको राजस्थानले विकेट जोगाउन सफल भएपनि रन बनाउन सकेन । मात्र ४ विकेट गुमाएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ४४ रन बनाएपछि प्रतियोगिताबाट बाहिरियो ।

यो सिजन कोलकाता र राजस्थानको तेस्रो भेट हो जसमा तीनै खेलमा राजस्थानले हार बेहोरेको छ । यसअघि हैदराबादलाई पराजित गर्दै चेन्नईले फाइनलमा स्थान बनाइसकेको छ ।

Comments