खानेपानीको अभावका कारण दशकदेखि एक घण्टा टाढाको खोलामा पानी लिन जानुपर्ने बाध्यता

सल्यान — सल्लीबजारमा खानेपानीको संकट भए पनि बन्गाडकुपिण्डे नगरपालिकाले बेवास्ता गरेको भन्दै स्थानीयले खानेपानीका सामग्रीसहित नगरपालिकामा धर्ना दिएका छन् ।रित्ता गाग्री, कुटा, कोदाला र खानेपानी पाइप लिएर स्थानीयले नगरपालिकामा धर्ना दिएका हुन् ।
खानेपानी तत्काल व्यवस्थापन गर्न माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गराइएको स्थानीयको भनाइ छ । बर्सेनि सुक्खा समयमा सल्लीबजारमा खानेपानीको संकट हँुदा स्थानीयले सास्ती भोगेका छन् । खानेपानी व्यवस्थापनको माग गर्दै सल्लीबजार महिला समूहले धर्ना दिएको हो ।
नगरपालिकाले खानेपानी समस्याप्रति बेवास्ता गरे आन्दोलन चर्काउने समूहकी अध्यक्ष गीता
खड्काले बताइन् । उनले खानेपानीको अभावका कारण दशकदेखि एक घण्टा टाढाको खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको सुनाइन् । खानेपानीको अभावका कारण स्थानीयको जनजीवन प्रभावित भएको उनको भनाइ छ ।
स्थानीय देवी बस्नेतले पानीका लागि लामो समयदेखि सास्ती भोग्दै आएको बताइन् । बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोविन्द पुनले नगरका प्राविधिकले स्टमेट तयार नगर्दा खानेपानी व्यवस्थापनमा समस्या भएको बताए । उनले नगरपालिकाको सल्लीबजारमा सञ्चालित योजना यसै आर्थिक वर्षमा सम्पन्न गर्न काम तीव्र रूपमा अगाडि बढाइएको बताए ।

Comments