भारतीय पर्यटकहरूलाई खप्तड भ्रमणमा आकर्षित गर्न उत्तराखण्डका विभिन्न ठाउँमा गएर खप्तडको प्रचारप्रसार गरेका हुन् ।

बझाङ — ‘भूस्वर्ग’का नामले परिचित प्रदेश नं ७ को प्रमुख पर्यटकीय गन्तव्य खप्तडको प्रचारप्रसार गर्न पर्यटन व्यवसायी र पर्यटनसँग सम्बन्धित विभिन्न संघ– संस्थाका पदाधिकारीहरूले स्वस्फूर्त अभियान सञ्चालन गरेका छन् । उनीहरूले भारतीय पर्यटकहरूलाई खप्तड भ्रमणमा आकर्षित गर्न उत्तराखण्डका विभिन्न ठाउँमा गएर खप्तडको प्रचारप्रसार गरेका हुन् ।‘खप्तड देशकै सुन्दरतममध्येको एक पर्यटकीय गन्तव्य हो । तर यहाँ आउनुपर्ने जति पर्यटक अझै पनि पुग्न सकेका छैनन्,’ प्रचार टोलीका एक सदस्य एवं सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर नेपाल (सोट्टो नेपाल) का निवर्तमान केन्द्रीय अध्यक्ष यम खड्काले भने, ‘हामीले यसको महत्त्व बुझाउन नसकेका कारण लिनुपर्ने जति लाभ लिन सकिरहेका छैनौं ।’
नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराई, राजनीतिकर्मी सूर्य थापा, सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर नेपाल (सोट्टो नेपाल) का केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य, नेपाल पर्वतारोहण संघ साइपाल हिमाल शाखाका पदाधिकारी, पर्यटन पत्रकार र फोटो पत्रकारको टोली खप्तडलगायत सुदूरपश्चिमका गन्तव्यहरूको प्रचार गर्दै भारतको देहरादूनसम्म पुगेको थियो ।
टोलीले उत्तराखण्डको पर्यटन मन्त्रालयको समेत जिम्मवारी सम्हालिरहेका सिँचाइ बाढी नियन्त्रण तथा संस्कृतिमन्त्री सत्यपाल महाराज लगायत त्यहाँका पर्यटन व्यवसायी र सरकारी निकायका व्यक्तिहरूसँग खप्तड प्रवद्र्धनका विषयमा छलफल गरेको टोलीका एक सदस्य नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले बताए । ‘अलौकिक सुन्दरता भएको, धार्मिक, आध्यात्मिक र पर्यावरणका हिसाबले समुन्नत भूमि खप्तड प्रचारप्रसारकै अभावमा ओझेलमा रहेकाले हामीले यो अभियान थालेका हौं,’ थापाले भने, ‘छिमेकी मुलुक भारतको उत्तराखण्ड र उत्तरप्रदेश राज्यको जनसंख्याको सानो हिस्सालाई मात्र यता आकर्षण गर्न सकियो भने सिंगो प्रदेशकै आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले भारत लक्षित अभियान चलाएका हौं ।’
Comments
Post a Comment