३ विधामा मनोनयनमा परेका उदाउँदा क्रिकेटर सन्दिप लामिछाने आफ्ना कप्तान पारस खड्कासँगै प्रतिस्पर्धामा छन्

banner
काठमाडौं। ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १५औँ संस्करण’ आज हुँदैछ । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजना हुँदैछ ।

आज ८ विधामा अवार्ड प्रदान गरिँदैछ । २०७४ सालमा नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र संस्थालाई अवार्ड प्रदान गरिनेछ । वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट र स्पेशल अवार्ड आज प्रदान गरिँदैछ । यीमध्ये लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट र स्पेशल अवार्डको घोषणा आज कार्यक्रममै गरिनेछ । बाँकी ५ विधाका लागि यसअघि नै ५–५ जनाको मनोनयन सार्वजनिक भइसकेको छ ।

पिपुल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मानबहादुर श्रेष्ठ मनोनयनमा परेका छन् । वर्षको उत्कृष्ट खेलाडी पुरुषमा क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की मनोनयनमा छन् । वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ छन् ।

उत्कृष्ट युवा खेलाडीतर्फ सन्दीप लामिछानेसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल रहेका छन्। उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका छन् । वर्षका उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

Comments