काठमाण्डौ । विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरहेका हुन्छन्। जहाजभित्र एकाध दिनलाई पुग्ने पानी र खाद्यान्न छ, तर केही घण्टामा गन्तव्यमा पुग्ने भनिएको जहाजले बाटो बिराउँछ। जहाज विशाल समुद्रमा कैयौं दिन हराइरहन्छ।खानेकुरा सकिएर यात्रु हैरान हुन्छन् । यत्तिकैमा खान नपाएर छटपटिइरहेकी एक युवतीको मृत्यु हुन्छ ।
जहाजका अन्य यात्रुले लास गन्हाउँछ भनेर ती युवतीको शव समुद्रमै फालिदिन्छन्। सोच्नुहोला, यो कुनै अंग्रेजी चलचित्रको कारुणिक दृश्य–कथा हो।यथार्थ त्यस्तो होइन । यो त्यही सत्य घटना हो, जसमा तीन नेपाली युवतीसमेत प्रत्यक्ष साक्षी थिए। केही महिनाअघि हैटीको राजधानी पोर्ट औं प्रिन्सबाट छुटेको पानीजहाज ‘क्यारेबियन सी’ मा १८ दिनसम्म हराएर टापु राष्ट्र बहामास पुगेको थियो । उक्त पानीजहाजभित्र पानी र खाना नपाएर भक्तपुरकी सुमित्रा कुँवरको मृत्यु भएको खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्। उनीसँगै रहेका दुई युवती सकुशल फर्किएपछि घटना बाहिर आएको हो।
तलको भिडियो खोलेर हेर्नुहोस
९ महिनाभन्दा धेरै समय विभिन्न देशमा सास्ती खेप्दै बल्लतल्ल फर्केका ती युवतीले ६० लाख रुपैयाँभन्दा बढी गुमाएका छन्।उनीहरूले आफ्नो परिचय सार्वजनिक गर्न हिच्किचाए । ऋण काढेर अमेरिका हिँडेका ती दुवैले आफू ठगिएको कथा सार्वजनिक भए पारिवारिक र सामाजिक सम्बन्धमा समस्या आउने भन्दै नाम नछापिदिन आग्रह गरे।आफूलाई अमेरिका लैजान फकाउने र लाखौं रकम बुझ्ने मानव तस्करबारे पनि उनीहरू खुल्न चाहँदैनन् ।
प्रहरीको सहयोग लिने पनि तत्काल योजना छैन । ‘फसेको पैसा सकेसम्म आफैं उठाउने प्रयासमा छौं,’ एक युवतीले भनिन्, ‘यो घटना घरपरिवारले थाहा नपाऊन् भनेर प्रहरी नगुहारेका हौं।’ सुमित्राका श्रीमान् कैलाश कटुवालले उनको मृत्युको १५ दिनपछि मात्र घटनाबारे परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट थाहा पाएको बताए । ‘कन्सुलरले मृत्युको जानकारी गराएपछि कुशको शव बनाएर पशुपति आर्यघाटमा दाहसंस्कार गरें,’ उनले भने।
Comments
Post a Comment