नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल चल्ने



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई तिब्र विकासका थुप्रै लड्डु खुवाइसकेका छन्। उनले चमत्कारिक विकासका लड्डु खुवाएपनि काम गरेर भने देखाउन सकेका छैनन् । यद्यपी विकासको नयाँ आधारका रुपमा सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

प्रधानमन्त्री ओलीकै अध्यक्षतामा रहेको लगानी बोर्डले मेट्रो रेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको हो । प्रधानमन्त्री स्तरको निर्णयले आगामी चार हप्ताभित्र विस्तृत सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीले प्रस्ताव बुझाउनुपर्ने छ।

यो विश्वव्यापी बोलपत्र भएकाले विश्वका जुनसुकै देशका कम्पनीले समेत बोलपत्र दिन सक्नेछन्। पहिलो चरणमा परामर्शदाता चयन गरी रेलमार्गको अध्ययन हुनेछ । सार्वजनिक निजी साझेदारी ढाँचामा शहरी यातायातलाई व्यवस्थित गर्ने लक्ष्यका साथ मेट्रो रेलको अध्ययनका लागि प्रारम्भिक काम सुरु भएको बोर्डको दाबी छ ।

बोर्डले छनोट गर्ने परामर्शदाताले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन डिएफएस तयार गर्नुपर्ने बताएको छ । यस्तै बोर्डले इच्छुक परामर्शदातालाई मेट्रो रेल निर्माणको समग्र पक्ष समेटिएको आशयपत्र पेश गर्न समेत आग्रह गरेको छ । काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्मको मेट्रो रेलको लम्बाई ४५ किलोमिटर लामो छ ।

Comments