धुर्मुसलाई फिल्ममा नराखेकै राम्रो : दीपकराज गिरी

धुर्मुसलाई फिल्ममा नराखेकै राम्रो : दीपकराज गिरी

काठमाडौं । नेपाली चलचित्र छक्का पन्जा ३ को छायांकनको काम सुरु भएको छ । एक कार्यक्रमको आयोजना गरेर छक्का पन्जा टिमले छायांकनको औपचारिक घोषणा गरेको हो ।

यसअघि सफल भएका चलचित्र छक्का पन्जा र छक्का पन्जा दुई पछि दीपक राज गिरी र दीपाश्री निरौलाले छक्का पन्जा ३ बनाउने निर्णय गरेका थिए । यस चलचित्रमा अधिकांश हाँस्यकलाकारलाई समावेश गरिएतापनि सीताराम कट्टेल ‘धुर्मुस’ भने यस चलचित्रमा रहने छैनन् ।

दीपकका अनुसार, धुर्मुस सामाजिक काम व्यस्त भएका कारण र समाजका ठूला ठूला जिम्मेवारी बोकेका कारण, उनको खाँचो चलचित्रलाई भन्दा समाजलाई बढी छ, त्यसैले धुर्मुसलाई अहिले चलचित्रमा नलिनु नै राम्रो हुन्छ ।

छक्का पन्जा टिमलाई शुभकामना दिनको लागि र आवश्यक सहयोगको लागि धुर्मुस आउने गरेको तथा आफूहरु पनि उनको काममा सहयोग गर्न जाने गरेको समेत उनले प्रष्ट पारेका छन्।

यस अघिका चलचित्रमा दीपक राज गिरीको ‘हिरोइन’ रहने गरेकी प्रियंका कार्की पनि यस चलचित्रमा छैनन् । उही अनुहार, उही सम्बन्ध बारम्बार दोहोरिनु राम्रो नहुने र कथाको पात्र अनुसारको अभिनेत्री छान्नुपर्ने हुनाले प्रियंकाको ठाउँमा यसपाली ‘ऐश्वर्य’ चलचित्रकी नायिका दीपिकालाई लिइएको उनले बताएका छन् ।

Comments