घाटमा एक जना मान्छे आएर सम्झाउने किसिमले भन्यो, ‘नरुनुस् दाइ । यो प्राकृतिक कुरा हो । सबै घरमा हुन्छ ।’ हूलबाट एक महिला आएर नरुनुस् भन्दै जवाफी बनिन्– ‘रुन दिनुस् न । रुन पनि नपाउने ।’ खासमा ती दुवैथरी मान्छेको विचार आ–आफ्नो ठाउँमा सही छ ।



काठमाडौँ — ५ वैशाख, अक्षयतृतीया । मदनकृष्णको जन्मदिन । उनी छोरा यमनसँग भद्रकालीमा मृतक पत्नी यशोदाको नाममा एक सय आठ बत्ती बालेर फर्किंदै थिए । पत्नी र आमा शोकबाट भर्खरै बाहिर निस्किएका बाबुछोरासँग हामीले केही फरक विषयमा बातचित गर्‍यौं । यशोदाको मृत्युमा कतिसम्म भने शव ब्रह्मनालमा सुताएका बेलासमेत क्यामेराको ताँती थियो ।बाबु–छोरा भक्कानिएर रोएको दर्जनौं भिडियोहरू अनेक नामधारी युट्युब च्यानलमा हप्तौंसम्म छाइरहे । मदनकृष्णका केही शुभेच्छुक र केही गन्ने–मान्ने फोटोपत्रकारले समेत आर्यघाटमा दर्जनौं क्यामेरा तेर्साएर उनलाई शान्तपूर्वक रुन नदिएको भन्ने विचार सामाजिक सञ्जालमा व्यक्त गरे । हामीले उनीहरूसँग यही विषयको सेरोफेरोमा बात गर्‍यौं ।


मदनकृष्ण श्रेष्ठ
मृत्युको दिन पशुपति घाटमा म दिनभर भक्कानिएँ । मलाई माया गरेर मेरो हात पक्रने हजारौंको मायाबाट सायद म पग्लिएँ । घाटमा अर्बौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे, मलाई सानै चोट लाग्दा पनि तिमी छटपटाइहाल्ने.... बोलको गीत बजिरहेको थियो । त्यो गीतले पनि मलाई रेटिरहेको थियो । मन हजारौंको माया र आत्मीयताले पनि रोइरहेको थियो । तर, घर आएपछि म संयमित भएँ । शान्त महसुस गरें ।


यशोदालाई निको नहुने रोग क्यान्सर थियो । ६ वर्ष औषधिले जीवन तन्कायो । त्यो बीचमा ९८ किमो चढाइयो । रोग निको नभए पनि केही थिएन तर पीडा असाध्यै भयो । करङमा क्यान्सर फैलिएपछि त अति नै दुख्ने भयो । कोही मान्छे दगुर्दै आएर र्‍वाप्प छुरी रोपेजस्तो । मेरुदण्डमा क्यान्सर सरेपछि उनको दुवै खुट्टा चल्न छाडे । मृत्युपछि उनी असाध्य पीडाबाट मुक्त भइन् भन्ने सोचें ।


जन्मलाई उत्सव भनिन्छ । मृत्युलाई पनि उत्सव भनिन्छ । तर, जन्मलाई हामीले उत्सव नमानेर सूतक भनेर अनेक बार्छौं । मलाई यो के गरेको होला जस्तो लाग्छ । तर, मृत्युलाई चाहिँ कसैले पनि उत्सवको रूपमा लिएको पाएको छैन । मृत्यु भनेको दु:ख विछोड र पीडाको समय हो भन्ने छ । कैयौं मिडियाको कभरेजले, हजारौं मान्छेको उपस्थितिले मृत्युलाई मैले उत्सवको रूपमा परिणत भएको पाएँ । आर्यघाटमा अन्य कैयन शव पनि थिए । तर यशोदाकै वरिपरि हजारौं मान्छे थिए । त्यो त भाग्यमानी भयो । निकै थोरैले मात्रै यस्तो माया पाउँछन् । त्यस्तो क्षणलाई हेर्न पाउनाले म पनि भाग्यमानी भएँ । त्यो सबै मिडियाले गर्दा भएको हो । घाटमा पनि म कैयन क्यामेराले घेरिएको थिएँ । कलाकार भएकाले मिडियाले मलाई पछ्याउनु स्वाभाविक नै हो । मलाई त लाग्यो, मिडियाले मलाई गुन गरिरह्यो ।


घाटमा रोइरहेको दृश्य भएका केही भिडियो युट्युबमा मैले पनि हेरें । मान्छेले हाँस्न मन लागेको बेला दिल खोलेर हाँस्नु र रुन मन लागेको बेला पनि दिल खोलेर रुन पाउनुपर्छ । मैले दुवै पाएजस्तो भयो । आफैं रोएको केही भिडियो हेरेर म पनि रोएँ । मेरो जिन्दगी सधैं खुला किताबजस्तो रह्यो । केही लुकेको छैन । म रोइरहेको दृश्य युट्युबमा हेरेर हेटौंडाकी एक अपरिचित फ्यानले फोनमा भनिन्, ‘तपाईं रोएको युट्युबमा देखेर म धेरै रोएँ । श्रीमतीको निधनमा यति धेरै रोएको श्रीमान् मैले कहीं देखेकी थिइनँ ।’ तिनको कुराले मन छोयो । यशोदाको निधनमा म कति भावुक भएँ भन्ने कुरा अरूले पनि थाहा पाए । म जे थिएँ क्यामेराले त्यही खिचे । मृत्यु पनि उत्सव बन्न गयो । त्यो त्यत्तिकै हुँदैन । सानो आँटले उत्सव हुँदैन ।


घाटमा मज्जाले रोएर पनि होला घर आएपछि मलाई रुन आएन । आँसुबाट सबै दु:ख वेदना, वियोग पखालेजस्तो भयो । घरमा आएर सोचे, जे हुनु भयो । नहुनु पर्ने र हुनुपर्ने दुवै भयो । तर, मैले आफूलाई सम्हालें । किनकि मैले सक्नेजति गरेको थिएँ ।


मोडल अस्पतालबाट डाक्टर भरत प्रधानहरूले मनोचिकित्सक डाक्टर कपिल शर्मालाई पनि लिएर आउनुभएको थियो । शोकका बेला मनोचिकित्सक चाहिन्छ भनेर । तर,
उहाँंहरू मलाई देखेर तपाईंलाई केही भन्नै पर्दैन भन्नुभयो ।


हामीले पाँचै दिनमा शुद्धाशुद्धि गरेर चोख्यायौं । तर १३ दिनको काम भने जारी राख्यौं । संस्कारलाई आफूअनुसार, समय र परिस्थितिअनुसार सुधार पनि गर्न सकिँदो रहेछ । मैले अन्तरजातीय विवाह गरेको । किरिया बाहुन परम्पराअनुसार गर्ने कि नेवार परम्पराअनुसार भन्दा यशोदा जे गरे नि हुन्छ भन्थिन् । हामीले दुवै परम्परा मिसाएर किरिया गर्‍यौं । नेवार परम्परामा दस दिनमा कपाल खौरिन्छ । बाहुन परम्परामा पहिलो दिनमै कपाल खौरिन्छ । मैले दागबत्ती दिने बेलामै छोराको कपाल खौरें र मैले भने पहिलो र दस दिनमा दुवैमा खौरें । विधिहरूमा पनि फ्युजन गरियो ।


मृत्युको चौधौं दिन हरिवंशसँगै नेपालगन्जको समता स्कुलमा गए । प्रधानमन्त्रीले राराबाट भर्ना अभियान सुरु गरेकै दिन हरिवंश र रमिलाको तर्फबाट एक/एक बच्चा, मेरोतर्फबाट एक र यसोदाको तर्फबाट पाँच बच्चालाई पढाउने घोषणा गर्‍यौं । समता स्कुलमा केजीदेखि मास्टर्ससम्म स्कुलको भर्ना शुल्क, किताब र ड्रेससमेत किनिदिने घोषणा गरेर बेलुका नै फर्कें ।


यमन श्रेष्ठ
सयौं क्यामेराले हामीलाई घाटमा पछ्याइरहेका थिए । तर मेरो पूरै ध्यान आमा र संस्कार प्रक्रियामा केन्द्रित थियो । बारम्बार म नि:शब्द भइरहेको थिए । मैले शुभेच्छुकहरूको भीड मात्रै देखे । कैयन शुभेच्छुकले घाटमा पनि क्यामेराले घेरेर के गरेको भन्नेजस्ता प्रतिक्रिया पनि जनाउनुभयो । तर क्यामेराले मलाई कुनै अप्ठ्यारो पारेन । मलाई कतै केही फिल नै भएन । संस्कार कर्म सकेपछि घाटमा हामी रोइरहेको केही भिडियो युट्युबमा पनि हेरे । कति भिडियो त हेर्न पनि सकिन । आफूलाई पनि गाह्रो भयो । ड्याडीले पनि त्यस्ता केही भिडियो हेर्नुभयो, रुनुभयो र धेरै हेर्नसक्नुभएन ।


केही शुभेच्छुकलाई घाटमा र रोइरहेको बेलासमेत क्यामेराले किन पछ्याएको होला भन्ने लागेको हुन सक्छ । हामीलाई अझै धेरै माया गर्ने भएकाले उहाँहरूलाई त्यस्तो फिल भएको होला । तर घेरिएका क्यामेराले मलाई केही अप्ठ्यारो पारेन । किनकि म अर्कै धुनमा थिए । शोकको धुनमा । ब्रह्मनालमा आमाको शव राखेका बेला पनि वरिपरि क्यामेरा नै क्यामेरा थिए । कोही–कोहीलाई त्यो के गरेको होला भन्ने पनि लागेको हुन सक्छ । तर मेरो ध्यान भन अन्तै थियो । वाग्मतीको फोहोर पानी हातले उठाएर कसरी आमाको मुखमा खुवाउने होला ? जबकि ममी सारै नाटीकुटी हुनुहुन्थ्यो । सरसफाइमा उहाँको विशेष ध्यान हुन्थ्यो । त्यस्तो मान्छेलाई फोहोर पानी खुवाउनुपर्‍यो । यस्तो थाहा भएको भए त बरु घरबाटै मिनिरल वाटर लगेर खुवाउँथें नि भन्ने कुरा पनि मनमा आयो । त्यतिबेला त्योबाहेक अरू केही सोचिनँ ।


घाटमा क्यामेरा टन्नै थिए । ड्याडी रोइरहनुभएको थियो । एक जना मान्छे आएर सम्झाउने किसिमले भन्यो, ‘नरुनुस् दाइ । यो प्राकृतिक कुरा हो । सबै घरमा हुन्छ ।’ मलामीको हूलबाट एक महिला आएर नरुनुस् भन्दै सम्झाउने ती मान्छेलाई गाली गर्दै भन्नुभयो, ‘रुन दिनुस् न । रुन पनि नपाउने ।’ खासमा ती दुवैथरी मान्छेको विचार आ–आफ्नो ठाउँमा सही छ ।
जहिले पनि म आधा नेवार आधा बाहुन भनेर हिँड्ने मान्छे । तर, संस्कर कर्म सुरु भएपछि मलाई साँच्चै म नेवार कि बाहुन भन्ने मनमा आयो । सुरुको दिन आमा बाहुन, बाबु नेवार अब कुन विधि गर्ने भन्ने लागेको थियो । पहिलो दिन बाहुन परम्पराअनुसार काडापानी र फलफूल मात्रै खानुपथ्र्यो । त्यसै गरें । कपाल खौरिएँ । त्यतिबेला मामाघरमा सबै सदस्य हुनुहुन्थ्यो । केही बेरपछि ससुरालीबाट माले चिउरा, रोटी, आलु ल्याइदिनुभयो । मामाहरू गएपछि नेवारी चलनअनुसार मैले रोटी, आलु खाएँ ।


आमाको निधनमा मैले यस्तो कविता पनि लेखें :
अर्को जुनी तिमी मेरै आमा भइदिनु है
त्यो बेला अहिलेजस्तो छोडी नगइदिनु है
यो मनको मन्दिरमा तिम्रो फोटो सजाउँछु
तिम्रै भजन गाउँछु, तिम्रै धुन बजाउँछु ।
प्रस्तुति– जनकराज

Comments