अमेरिकाको टेक्सास राज्यमा सान्ट फे हाइस्कुलमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दशजनाको मृत्यु भएको छ

अमेरिकाको टेक्सास राज्यमा सान्ट फे हाइस्कुलमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दशजनाको मृत्यु भएको छ । टेक्सास राज्यको हाउसटनको दक्षिणपूर्वी क्षेत्रमा रहेको सो विद्यालयमा स्थानीय समयअनुसार शुक्रबार बिहान गोली चल्दा अन्य दशजना घाइते भएका छन् । विद्यालयनजिकै आयोजित पत्रकार सम्मेलनमा सो राज्यका गर्भनर जर्ज अब्बोटले गोली आक्रमणको निन्दा गरेका छन् ।
आक्रमणकारी सोही विद्यालयका छात्र डिमित्रिओस पागोउरजिस रहेको जनाइएको छ । १७ वर्षीय ती आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी आफ्ना बाबुको बन्दुक र रिभल्भर लिएर विद्यालय पुगेका थिए । मारिनेमा अधिकांश विद्यार्थी छन् ।
हाउसटनबाट ४० माइल दक्षिणमा पर्ने सो विद्यालयमा विभिन्न प्रकारका विस्फोटक पदार्थ फेला परेको जनाइएको छ । आक्रमणकारीले प्रयोग गरेका कार्बनडाइअक्साइडलगायतका सामग्री फेला परेको प्रहरीले जनाएको छ । आक्रमणकारीको डायरी, कम्प्युटर, मोबाइल फोनबाट प्रहरीले महत्वपूर्ण सूचना फेला पारेको छ । उनले आक्रमणपछि आत्महत्याको योजना बुनेको प्राप्त विवरणमा उल्लेख छ । तर, आत्महत्या गर्ने साहस नभएपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
सान्ता फे प्रहरी प्रमुख जेफ पोवेलले कुनै शंकास्पद वस्तुप्रति सचेत हुन आग्रह गरेका छन् । ‘जथाभावी फेला परेका सामग्री नछुन आग्रह गरिन्छ,’ उनले भने । सान्ता फे विद्यालयका प्रहरी अधिकारी जोन बान्सलगायत केही व्यक्ति घाइते भएका छन् ।
अर्को एक बेग्लै गोली काण्डमा एक महिलाको मृत्यु भएको छ । अटलान्टाको हाइस्कुल ग्य्राजुएसन कार्यक्रममा गोली चल्दा एक महिलाको मृत्यु भएको हो । एक तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा विभिन्न गोली काण्डमा पाँच हजारको ज्यान गएको छ ।
Comments
Post a Comment