उडान भएन राजविराज विमानस्थलमा



राजविराज — लामो समयदेखि प्रतीक्षाको विषय बनेको राजविराज विमानस्थलको निर्माण कार्य पूरा भए पनि उडान हुन सकेको छैन । परीक्षण उडानका लागि तयार गरिए पनि फाइल सदर नहुँदा कार्यान्वयन नभएको हो ।

धावन मार्ग पक्की, एप्रोन र टयाक्सी–वे कालोपत्रेसँगै टावर मर्मत कार्य सम्पन्न भएपछि राजविराज विमानस्थलमा जहाज उडान र अवतरण हुने गरी तयार भएको थियो । विमानस्थल तयार भएपछि गत वैशाख २० गते नै परीक्षण उडान गर्ने तयारी गरिएको थियो । तर, जेठ लागिसक्दा पनि परीक्षण उडान हुन सकेको छैन ।

पछिल्लो चरणमा १ हजार ५ सय मिटर लामो र ३० मिटर चौडा धावन मार्ग पक्की बनाइएको छ । यस्तै ९० मिटर लामो र ६० मिटर चौडा एप्रोन तथा १ सय १० मिटर लामो तथा २० मिटर चौडा टयाक्सी–वे कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण राजविराज विमानस्थल परियोजना प्रमुख रामएकवाल महतोका अनुसार विमानस्थल परीक्षण उडान भर्न तयार भए पनि परीक्षण उडान गर्ने एयरलाइन्सलाई अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हुनुपर्ने अनुमतिको फाइल सदर हुन नसक्दा उडान रोकिएको हो ।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले परीक्षण उडानका लागि फाइल सदर गरेपछि एयरलाइन्सले उडानको अनुमतिसहितको चिठी पाइसकेपछि उसले उडानको दिन तय गरी तयारी गर्नेछ । राजविराज विमानस्थलमा परीक्षण उडानका लागि श्री एयरलाइन्सका तर्फबाट कार्य अघि बढाइएको महतोले जनाए । ‘२० वैशाखमा परीक्षण उडान हुन नसक्दा हामीले जेठ २ मा गर्ने तयारी गरेका थियौं,’ महतोले भने, ‘तर, फाइल सदर नहुँदा रोकियो ।’ उनले जेठ २ मा कागजी प्रक्रिया पूरा गर्ने गरी तयारी गरिए पनि मकालु एयरको विमान दुर्घटना हुँदा सबै उतैतिर लागेकाले काम हुन नसकेको बताए ।

विसं २०१६ सालमा तात्कालीन मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन भएको केही दिनभित्रै सो विमानस्थलमा विमान सेवा बन्द भएको थियो । कच्ची धावनमार्ग तथा अन्य प्राविधिक समस्याका कारण राजविराज विमानस्थल पुन: सञ्चालनमा आउन सकेको थिएन । कच्ची धावनमार्ग, अन्य भौतिक पूर्वाधार निर्माण नहुँदा राजविराज विमानस्थल गाईवस्तु चराउने गौचरका रूपमा परिणत भएको थियो । पटकपटक विमानस्थल निर्माणको मुद्दा अघि बढे पनि राजविराज विमानस्थलको पूर्णरूपेण निर्माण कार्य हुन सकिरहेको थिएन । सप्तरीबासीको दबाबपछि सरकारले राजविराज विमानस्थल निर्माणकार्यलाई प्राथमिकतामा राख्दै बजेट छुटयाएपछि २०७३ सालमा टेन्डर भएको थियो । टेन्डरअनुरूप ०७३ साल असोज १६ गते रमण, कान्छाराम, देव एन्ड सायर जेभीले नेपाल नागरिक उड्डयन प्राधिकरणसित सम्झौता गरेका थिए । धेरैपटक म्याद थप्दै बल्ल विमानस्थलको धावनमार्ग निर्माण भएर उडानको अवस्थामा छ ।

Comments