
ललितपुर — एकान्तकुनामा चार महिनाअघि एउटा ट्रकले किचेर सरला मिश्रको घटना स्थलमा मृत्यु भयो । मिश्र कुसुन्तीबाट मोटरसाइकलमा सवार थिइन् ।मोटरसाइकल चक्रपथमा अनियन्त्रित भई लडेपछि तीव्र गतिमा आएको ट्रकको पछाडिको चक्काले किचेको थियो । महालक्ष्मीस्थानमा बाटो काट्ने क्रममा तीन महिनाअघि ५७ वर्षीय फुर्मामंगल शेर्पालाई बसले ठक्कर दियो । शेर्पाको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो । खोटाङ घर भई सातदोबाटो बस्दै आएका उनको परिवार बिचल्लीमा परेको छ ।
ग्वार्कोमा तीव्र गतिमा आएको मोटरसाइकल सडक पेटीमा ठोक्किँदा पछाडि बस्ने २९ वर्षीय सर्लाहीका गणेश तिवारीको मृत्यु भयो । चालक अंगभंग भए । एक साताअघि सडक पार गर्दै गरेकी कौशलटारकी रञ्जु सिलवाल पनि दुर्घटनामा परिन् । उनीजस्तै सडक दुर्घटनामा परेर काभ्रेका राम थापा घाइते बने । तीव्र गतिमा आएको भाडा बसले थापालाई पछाडिबाट ठक्कर दिएको थियो । विस्तारित कोटेश्वर–कंलकी ८ लेन सडक खण्डमा ६ महिनायता ८ जनाले ज्यान गुमाइसकेका छन् । धेरै सर्वसाधारण अंगभंग भइसकेका छन् । अहिले दैनिकजसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
दुर्घटना तीव्र गतिमा सवारी चलाएकै कारण मात्र भने होइन । ८ लेन सडकमा फुटपाथ, साइकल लेन, जेब्र क्रसिङ, बस बिसौनी, सडक रेखांकल चित्र, डिभाइडर, ट्राफिक लाइट र सडक बत्ती पनि छैन । महानगरीय ट्राफिक प्रहरी ललितपुरका अनुसार यसले बालकुमारी–सानेपा सडकसम्म मात्रै २ सय १९ दुर्घटना भइसकेका छन् । तीमध्ये १ सय १९ जना गम्भीर घाइते बने । ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु भन्छन्, ‘सडकमा कम पूर्वाधारका कारण दुर्घटना बढेको बताउँछन् ।
सम्बन्धित निकायले समयमा चासो नदिएमा थप सर्वसाधारणको मृत्यु हुने देखिएको छ ।’ उनले फराकिलो सडकको चोकमा ट्राफिक लाइट नभएपछि तीव्र गतिमा गुडेका सवारीले पैदल यात्रुलाई ठक्कर दिने गरेको बताए । उनका अनुुसार ८ लेन सडकको बीचमा सडक डिभाइडर र मिडियन छैन । ‘सडकले ट्राफिक जाम कम गरे तापनि पैदलयात्रुमैत्री छैन,’ उनले भने । चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले बनाउन थालेको कोटेश्वर–कलंकी सडकको निर्माणमा त्रुटि भएकाले दुर्घटना बढेका वातावरणविद् भूषण तुलाधार बताउँछन् । ‘चक्रपथको स्पिड ५० किमि प्रतिघण्टा तोकिएको छ,’ उनले भने, ‘गतिअनुसारको सुरक्षा व्यवस्था नअपनाइएको छैन ।’
‘नेपाल र चीन सरकारबीच चक्रपथ बनाउन भएको सम्झौतामा साइकल लेन रहने व्यवस्था छ । अहिले बनाएको सडकमा साइकल लेन छैन,’ वातारणविद् तुलाधरले भने । नेपाल सडक मापदण्ड २०७१ अनुसार सडकको दायाँबायाँ न्यूनतम १.२ मिटरको साइकल लेन र न्यूनतम १.५ मिटरको फुटपाथ पनि हुनुपर्ने व्यवस्था छ । सडकमा प्रतिघण्टा ५० किमिको गतिमा आएको गाडीले ठक्कर दिँदा मानिसको मृत्यु हुने सम्भावना ६० प्रतिशत र ३० किमि प्रतिघण्टाको गतिमा आएकोले ठक्कर दिँदा मृत्यु हुने सम्भावना हुन्छ ।
अहिले बनिरहेको चक्रपथमा ड्रेन, फुटपाट र साइकल लेनसहित गरी २.५ मिटर मात्र छ । वतावरणविद् तुलाधारले फुटपाथ र साइकल लेनबिनाको सडकले थप दुर्घटना निम्त्याउने बताए । ‘निर्माणाधीन सडकमा भएको त्रुटिबारे सडक विभागका इन्जिनियरहरूलाई पनि जानकारी छ,’ उनले भने, ‘तैपनि सच्याउन चासो दिएका छैनन् ।’ सडक विभागका प्रवक्ता मुक्ति गौतमले चिनियाँ कम्पनीले निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरेसम्म केही नगर्न नसकिने दाबी गरे । ‘पैदल, साइकल यात्रुको दुर्घटना कम गर्न अध्ययन भइरहेको छ,’ उनले भने, ‘तीव्र गतिमा आकाशे पुल निर्माण भइरहेको छ ।’
Comments
Post a Comment