मलाई हिरासत भित्रै मेरो ज्यान मार्ने खतरा छ भन्दै मागे हिरासतमै सुरक्षा



प्रहरी हिरासतमा रहेका सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीले हिरासतमै सुरक्षाको माग गरेका छन्।

उनले प्रहरी हिरासत भित्र आफू असुरक्षित रहेको भन्दै उपयुक्त सुरक्षा व्यवस्था मिलाइदिर्न माग गरेका हुन्। मंगलबार पक्राउ परेका गोरे जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन्। जिल्ला अदालत मोरङमा बयानका लागि बुधबार उपस्थित गराइएका उनले मानव अधिकारकर्मीको निगरानीमा आफू हिरासतमा बस्न पाउनु पर्ने आवाज उठाएका हुन्। प्रहरी हिरासत भित्र असुरक्षित रहेको र घटना अनुसन्धानका नाममा आफूलाई विभिन्न किसिमका यातना दिने काम गर्न थालिएको भन्दै गोरेले सुरक्षित रहन पनि मानव अधिकारकर्मीको निगरानीमा हिरासतमा राख्न माग गरेका हुन्।

‘धम्की आएका कारण म प्रहरी हिरासत भित्र अति नै असुरक्षित छु,’ गोरेलाई उद्धृत गर्दै अधिवक्ता मगरले भने, ‘त्यही भएर आवश्यक सुरक्षा र मानव अधिकारकर्मीको निगरानी हुनु आवश्यक छ।’ मगरले कुनै एउटा थुनुवाले सबै भन्दा बढी सुरक्षित हुनु पर्ने प्रहरी हिरासत भित्र असुरक्षित महसुस गर्नु पर्ने अवस्थाको सिर्जना हुनु दुःखद् भएको बताए। उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका लोडर प्रेमलाल चौधरीले प्रहरी हिरासत भित्रै रहस्यमय तरिकाले आत्महत्या गरेको घटनाका कारण डराएको हुन सक्ने प्रसंग जोड्दै भने, ‘गोरेले पनि प्रहरी हिरासतमा सुरक्षित महसुस गर्न सकेको पाइएन।’ चौधरीको मृत्युलाई पनि सुन तस्करीसंगै जोडेर हेरिएको छ।

यही प्रकरणमा थाइ एयरका कर्मचारी सानु बनको त्रिभुवन विमानस्थलमा ट्यांकरमा ठोक्किएर मृत्यु भएको थियो।भागेर बस्दा ज्यानमा खतरा हुने आफन्तको सल्लाहअनुसार नै गोरे आत्मसमर्पण गर्न भारतबाट केही दिनअघि नेपाल आएका थिए। सोही बेला प्रहरीले उनलाई पक्रेको हो।

यसअघि उनले गोरेले छानबिन समितिको बयानमा आफू ठुलो तस्कर नभई सामान्य कामदार रहेको बताएका थिए।

Comments