काठमाडौं । मंगलबार गृहमन्त्रालयमा बहुचर्चित सुनकाण्डका प्रमुख नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ लाई सार्वजनिक गर्ने कार्यक्रम थियो । जसमा सबैका चासो बनेका गोरे प्रमुख आकर्षणका केन्द्र थिए । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्यअभियुक्त चुडामणि शर्मा ‘गोरे’ लाई प्रहरीले सार्वजनिक गरेसँगै उनीप्रति पत्रकारको थप जिज्ञासा थियो ।
पत्रकार सम्मेलनको सुरूमा गोरेको मुखमा कालो पट्टी बाँधेको थियो। उनले चश्मा र रातो टोपी लगाएका थिए। अभियुक्तको अनुहार नचिनियोस् भनेर प्रहरीले यसरी पट्टी बाँधिदिने गर्छ।
गोरेलाई क्यामेरासामू ल्याएपछि पत्रकारले उनले लगाएको टोपी हटाइदिन प्रहरीलाई अनुरोध गरेका थिए।पत्रकारको अनुरोध सुनेका गोरे रिसाए आक्रामक रुपमा र फन्किद्ैं आफैंले टोपी निकालिदिए र ह्या भन्दै मुखमा बाँधिएको कालो पट्टी पनि खोलिदिए । गोरेको अनुहार रिसाएको देखिन्थ्यो ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा समिति संयोजक सहसचिव ईश्वर पोखरेलले उनलाई आजै जिल्ला अदालत मोरङमा पेश गरिने जानकारी दिए। ‘मुख्य अभियुक्त भएकाले उनलाई आजै अदालतमा पेश गर्छौं,’ संयोजक पौडेलले भने, ‘सुन तस्करी जेरीजस्तै जेलिएको छ। हामीले थप सूचना पनि पाएका छौं। त्यसको अनुसन्धान जारी राख्छौं।’ पौडेलले गोरेलाई काठमाडौंको गौरीघाटबाट मंगलबार बिहान पक्राउ गरिएको बताए।
Comments
Post a Comment