
विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले २८ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न मंगलबार आदेश दिएको छ । प्रहरी नियन्त्रणमा रहेका ३० मध्ये एक जना साधारण तारेखमा र अर्का एक जना धरौटीमा रिहा भएका छन् ।मुद्दा दर्ता भएको २१ दिनपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जय राउत र प्रजित केसी तथा सई बालकृष्ण सन्जेललाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । यसैगरी विमानस्थलका कर्मचारीहरू लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजु महर्जन, राजन थापा, अमर डंगोल, तुलाराम थारू, व्यापारी महावीर गोल्यान, राजेन्द्रमान शाक्य र भुजुङ गुरुङलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ । शाक्य हत्याका प्रतिवादी मोहन काफ्ले, टेकराज मल्ल ठकुरी, नरेन्द्र कार्की, लाक्पा शेर्पा, मोहन घिमिरे र राजन कुमारलाई पनि अदालतले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ ।
उनीहरूलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ (२) का आधारमा नियमअनुसार सिदा पाउने गरी थुनुवा पुर्जी दिई पुर्पक्षका लागि मोरङ कारागारमा पठाउन अदालतले आदेश दिएको हो । अदालतको आदेशमा भनिएको छ– ‘सुन खरिद गर्न केही प्रतिवादीले लगानी गर्ने र अरूले दुबईबाट प्राप्त सुन एयरपोर्टबाट सुरक्षाका साथ बाहिर निकालेर सम्बन्धितकहाँ पुर्याउने गरेको सन्दर्भमा २०७४/१०/०९ मा बीचबाटैमा सुन हराएको कारण पत्ता लगाउन संगठनभित्रका सदस्यलाई अपहरण तथा शरीर बन्धक लिने, विभिन्न एकान्त ठाउँमा लगी यातना दिने क्रममा उर्लाबारीमा मृत्यु हुन पुगेका सनम शाक्यको लास दबाउनका लागि विभिन्न प्रयत्न गर्ने/गराउनेसमेतका कार्यमा संलग्न यी प्रतिवादीलाई थुनुवा पुर्जी दिई कारागार शाखा मोरङमा पठाइदिनू ।’
प्रतिवादीमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन एसएसपी श्याम खत्रीका ड्राइभर विष्णु खडकालाई तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राख्नुपर्ने नदेखिएको भन्दै १५ हजार धरौटी लिई तारेखमा राख्न आदेश भएको छ । धरौटी प्राप्त नभए उनलाई पनि थुनामा राख्न अदालतले आदेश दिएको छ ।
यसैगरी तत्कालीन एसएसपी श्याम खत्रीका सुरक्षा गार्ड अमरबहादुर थापामगरको प्रत्यक्ष संलग्नता नदेखिएको र सहअभियुक्तकै पोलका आधारमा मात्र थुनामा राख्न वा धरौटी लिन नमिल्ने भएकाले तारेखमा रिहा गर्ने आदेश भएको छ ।
फरार रहेकाको हकमा कानुनबमोजिम म्याद जारी गर्न अदालतले आदेश दिएको छ । यो प्रकरणमा बरामद भएका दशीका सामान जिन्सीमा आम्दानी बाँध्न र कुनै थुनुवा प्रतिवादी बिरामी भए उपचार व्यवस्था मिलाउन अदालतको आदेश छ ।
वैशाख १९ गते जिल्ला न्यायाधिवक्ताको कार्यालयले जिल्ला अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गराएको थियो । जिल्ला न्यायाधिवक्ताको कार्यालयले यो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो मागदाबी गरेको छ ।
Comments
Post a Comment