अझै पनि उर्मिला प्रधानको मनमस्तिष्कमा गुञ्जिरहन्छ छोरी श्वेता थापाको आवाज। दुर्घटनाभन्दा करिब तीन घन्टाअघि ११ः३५ मा भएको अन्तिम संवादमा छोरीले यही भनेकी थिइन्। करिब साढे २ बजेतिर प्लेन ल्यान्ड भइसकेको खबर विमानस्थलको स्क्रोलमा देखिएको पनि हो। विडम्बना ! छोरीले ‘ल्यान्ड भएपछि भेटिहाल्छु नि’ भन्न छुटाइनन्। ल्यान्ड भइसकेको जहाजमा आगो दन्किन्छ भन्ने कसले पो कल्पना गरेको हुन्छ र ?
‘प्लेन जलिरहेको थियो, हामी हेरिरहेका थियौं। हेर्नुस् त कस्तो ! केही गर्न सक्ने अवस्था छैन’, ललितपुर गोदावरी, टौखेलकी उर्मिला प्रधान (५७), अहिले पनि भक्कानिन्छिन्। कुन हिम्मतले खोजिहोलिन् उनले छोरीको शव ? आफूले दरबारमार्गमा किनिदिएको टाइटन घडीको आधारमा सात दिनपछि छोरीको शव बुझ्दा उनको मानसिक अवस्था वर्णन गर्न के शब्दकोशका शब्द पर्याप्त होलान् ?
उर्मिलाकी एक्लो सन्तान हुन्, श्वेता। पतिसँग पारपाचुके गरेर पनि छोरीलाई ‘डाक्टर’ बनाउन दिनरात कम्ता मेहनत गरिनन् उर्मिलाले। छोरी डाक्टर बनेर फर्केपछि जिन्दगी सुखले चल्छ भनेर ढुक्क थिइन् उनी। त्यो दिन छोरी भेट्ने खुसीमा बिहान ११ बजे नै उर्मिला घरबाट निस्केकी थिइन्, छोरीलाई रिसिभ गर्न। उनी निस्कँदा श्वेता ढाकाबाट उडेकै थिइनन्। छोरी भेट्ने उनको त्योे इच्छा जीवनभर नमेटिने घाउ बनेर रह्यो। दुर्घटना भएको खबर सुनेदेखि त्यस दिन मध्यरातसम्म केएमसी अस्पतालमा छोरी खोज्दै भौंतारिइरहिन्। त्यहाँ नभेटेपछि हतास भएकी उनले भोलिपल्ट बिहान मृतकको सूचीमा छोरीको नाम देखिन्। चार दिनपछि पोस्टमार्टम भएको छोरीको पार्थिव शरीर पाउन सात दिन कुर्नुप¥यो उनले। सात युगभन्दा लामा र पीडादायी थिए ती सात दिन।
जीवनभर साँचिराखेको सपनालाई आफ्नै अगाडि गुमाएकी उर्मिलासँग अब केही छैन। रित्तो भइसकेकी छन् उनी। सारा आशा सकिएका छन्। बस् एउटै मिसनमा छिन् अहिले। त्यो हो, न्यायको खोजी।
‘म दुई दिन भो, बंगलादेश गएर आएको’, एक साताअघि उर्मिलाले भनेकी थिइन्, ‘त्यहाँ गएर हामीजस्तै आफन्तजन गुमाएकालाई भेटेँ। न्यायका लागि संगठित गरेर आएँ। हाम्रो बच्चा त गयो गयो, सरकार र विमान कम्पनीले हामीप्रति सहानुभूति पनि देखाएन।’
ठूलो सपना थियो काठमाडौं गौरीघाटका गणेशप्रसाद बराल र उनकी पत्नी गंगाको – समाजमा डाक्टरका बुवाआमा भनेर चिनिइने। घरघडेरी बन्धकी राखेर भए पनि महँगो विदेशी शिक्षा पढाएका थिए, सन्तानलाई। शिक्षा पूरा गरेर फर्कंदै गरेकी छोरी एल्जिना बराललाई दुर्घटनामा गुमाउन परेपछि अहिले उनीहरूको दैनिकी न्यायको खोजीमै बित्ने गरेको छ।
‘कान्छी छोरी पनि डाक्टर भई, बाबा ! अब दुःखका दिन गए।’
२०१८ मार्च १० तारिखमा एमबीबीएसको परीक्षा सकेपछि छोरीले भनेको अहिले पनि गणेशप्रसादको कानमा गुञ्जिरहन्छ। कुरा गर्दागर्दै मौन हुन्छन्। ओसिला आँखालाई लुकाउन खोज्दै छोरीका वाक्य सम्झिन्छन्, ‘छोरीले भनेकी थिई, अब इन्टर्नसिपमा मेरो १५ हजार कमाइ हुन्छ, आठ हजार खर्च भए पनि महिनाको सात हजार घरमा दिन सक्छु। मैले बिदामा घर आऊ न, यहीँ कुरा गरौंला भनेँ।’
जेठी छोरीले ढाकाबाटै गत वर्ष एमबीबीएस सकेकी थिइन्। कान्छीले पनि सकेपछि बराल परिवारमा खुसी नै खुसी थियो। गणेशप्रसाद मनमनै योजना बनाउँदै थिए– दुवै छोरी डाक्टर भए, अब एउटा अस्पताल खोल्नुपर्ला। तर, विमान चालकको सानो गल्तीले उनको सपना क्षणभरमै खरानी भयो। अहिले यो दम्पतीलाई छोरीको त्यही शब्दले पछ्याइरहेको छ– अब हाम्रो दुःखका दिन सकिए। दुःख अब कहिल्यै नसकिने गरी जरो गाडेर बसेको छ– मनभित्र।
कान्छी छोरी आउने दिन बिहान ५ बजे नै फोन आयो। दुवै छोरीसँग उनले कुरा गरे। ७ बजे फेरि कुरा गरे। गणेशले भने, ‘छोरी, के खान मन छ ? खसी, कुखुरा के ल्याऊँ ? ’ छोरीले इच्छा गरेको मःम अर्डर गरेर विमानस्थल गएका थिए उनी। विमान अवतरण गर्दै गरेको सूचना स्क्रोलमा पढेर उत्साहित भएका गणेश आफूले उद्धार हुँदासम्म दुर्घटनाबारे सूचना नपाएको बताउँछन्। दुर्घटना सुन्नेबित्तिकै अस्पताल गए तर छोरी देखेनन्। पत्नी पनि आइपुगिन्। ‘छोरी अब गई, धैर्य गर’ उनले सम्झाउने प्रयास गरे। तर पनि कतै जीवितै पो छिन् कि भनेर अस्पतालमा खोजे। नभेटेपछि साँझ ८ बजे घर फर्के। ‘छोरी लिन विमानस्थल गएको, रित्तै घर फर्कंदा ढोकाबाट पस्न पाइलै सरेन’, गणेशले भने।
भोलिपल्ट शिक्षण अस्पताल, महाराजगन्ज गए। ४९ वटा शव पोको पारेर राखिएका थिए। खोल्दा गन्ध आउँथ्यो। आपैmंले आशोच बारे।
गत फागुन २८ गते त्रिभुवन विमानस्थलको धावनमार्गमा दुर्घटनामा परेको यूएस बंगलामा ज्यान गुमाएका दुई दर्जन नेपालीका परिवार अहिले यस्तै पीडाबाट गुज्रिरहेका छन्। घटनास्थलमै ज्यान गुमाएका २२ जना र उपचारका क्रममा अस्पतालमा निधन भएका दुई गरी २४ जनाको परिवारको पीडा साझा छ। विडम्बना उनीहरू कसैले पनि अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन्। विमानमा मृत्यु भएका २७ जना विदेशीको अवस्था पनि उस्तै छ। ६७ जना यात्रु र चालक दलका चार गरी ७१ जना सवार विमानमा २० जना मात्र बाँचेका थिए।
अन्नपुर्ण पोस्ट
Comments
Post a Comment