बीबीसी । प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य मन्त्रीले १० लाख जनसंख्या रहेको देशको उत्तर पश्चिममा अवस्थित ब्यान्डाका शहरमा इबोलाको संक्रमण देखा परेको बताएका छन्।
झण्डै १० लाख मानिसको बसोबास रहेको उक्त शहरमा यो संक्रमण देखा परेसँगै त्यहाँ हालै देखिएका इबोला संक्रमणका घटना नयाँ चरणमा प्रवेश गरेको ठानिएको छ।
यसै महिनाको सुरुमा ब्यान्डाका शहर भन्दा करिब १५० किलोमिटर टाढा अवस्थित ग्रामिण वस्तीमा इबोला संक्रमणको पहिलो घटना देखा परेयता २३ जनाले ज्यान गुमाइसकेका छन्।
विश्व स्वास्थ्य संगठनले पठाएको परीक्षणमै रहेका इबोलाका चार हजार खोपका मात्रा बुधवारमात्रै कंगोमा पुर्याइएका छन्।
सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोलाको महामारी देखिदाँ ती खोपहरूको परीक्षण सफल भएको थियो।
कंगोका स्वास्थ्यमन्त्रीले शहरी क्षेत्रमा इबोला देखिएको पुष्टी गर्नुअघि नै, ग्रामिण क्षेत्रमा एउटा अन्तिम संस्कार समारोहमा भाग लिएर ब्यान्डाका फर्किएका एक व्यक्तिमा इबोलाको संक्रमण देखिएका विवरणहरू आएका थिए।
विश्व स्वास्थ्य संगठन र कंगोका अधिकारीहरू इबोला संक्रमित र उनीहरूसँग सम्पर्कमा बसेका ठूलो संख्याका मानिसहरूलाई सकेसम्म चाँडो खोप लगाउन चाहान्छन्।
Comments
Post a Comment