‘अरुण र दूधकोसीका बीच बीचमा रहेका केही ढुंगा हटाउन सके हिँडेर दिन लाग्ने ठाउँमा एक घण्टामा म जेटबोट पुर्‍याउन तयार छु । तर यो काम सरकारले गर्नुपर्छ

जेटबोट सञ्चालन भएयता यात्रुहरूले दूधकोशी नदी किनारमा पर्ने भोजपुर हतुवागढीको चुहार र भसुवासम्म र अरुण नदीको किनारमा पर्ने भोजपुर र धनकुटाको सिमाना पर्ने सिम्लेसम्म सहजै पुग्न सकेका छन् । अरुण र दूधकोसीमा भएका अवरोध हटाएमा चतराबाट अरुण नदी हुँदै संखुवासभाको तुम्लिङटारको फेदीमा र दूधकोसीको दोलालघाटसम्म यात्रुलाई एकै घण्टाको समयमा पुर्‍याउन सक्ने जेटबोटका एकमात्र क्याप्टेन वृच्छासिं दनुवारले बताए ।

उनी नेपालका अधिकांश नदीहरूमा मोटरबोट र जेटबोट चलाएर दुई दशकको लामो एडभेन्चर अनुभव बटुलिसकेका क्याप्टेन हुन् । उनले भने, ‘अरुण र दूधकोसीका बीच बीचमा रहेका केही ढुंगा हटाउन सके हिँडेर दिन लाग्ने ठाउँमा एक घण्टामा म जेटबोट पुर्‍याउन तयार छु । तर यो काम सरकारले गर्नुपर्छ ।’ हामीसँग नदीको अब्स्ट्याकल हटाउने प्रविधि छैन ।’ कोसी नदीमा निर्माण भएको नयाँ पुलमुनि स्थापना गरेको बन्दरगाहदेखि धनकुटाको सिम्ले र भोजपुरको भसुवा, चुहारसम्म जेटबोट पुगे पनि त्यहाँभन्दा माथि नदीमा रहेका विशाल चट्टानका कारण नदी बीचैबीच जस्तो सुकै एडभेन्चर भए पनि त्यो यात्रा तय गर्न नसक्ने क्याप्टेन दनुवारले बताए ।

केही वर्षअघि कोसी रिभर ट्रान्सपोर्टको मोटरबोट दोलालघाटसम्म पुगेको थियो । अहिले चालु अवस्थामा रहेका जेटबोटका क्याप्टेन वृच्छासिं दनुवारले नै उक्त बोटलाई दोलालघाटसम्म पुर्‍याएका थिए । हाल चालु जेटबोट पानीमा सञ्चालन गर्न कम्तीमा डेढ फुट पानीको लेवल चाहिन्छ ।तर हिमालदेखि तीव्रताका साथ बगेर आएका दूधकोसी र अरुण नदीका प्रवाह बीच बीचमा विशाल चट्टानमाथि चिप्लदै बग्ने भएकाले पानीको लेवल एकदुई ठाउँमा नपुग्दा आधुनिक प्रविधिमा आधारित जेटबोटलाई काभ्रेको दोलालघाट र संखुवासभाको तुम्लिङटार फेदीसम्म पुर्‍याउन नसकिएको दनुवारले बताए ।

नेपालका नदीहरूमा मोटरबोट र जेटबोट चलाएको अनुभवका आधारमा उनलाई कोसी नदीका जानकार मानिन्छ । उनले भने, ‘सरकारले चाहयो भने दोलालघाटसम्म जेटबोटबाट यात्रु आवतजावत गर्न सकिन्छ तर नदीका ‘अब्स्ट्याकल्सहरू’ सरकारले पन्छाइदिनुपर्छ ।’ पर्यटक गाइडका रूपमा काम गर्दागर्दै दुई दशकअघि नै दनुवार अमेरिकी नागरिकको संगतले नेपालका विभिन्न नदीमा मोटरबोट र जेटबोट चलाउन सिकेका हुन् । पहिलो चरणमा भोजपुुरको हतुवागडीस्थित भसुवासम्म पुगिरहेको जेटबोटका लागि दूधकोसीको बाधा पन्छाउने हो भने उदयपुरको बेलका नगरपालिका– ७ र भोजपुरको हतुवागढी गाउँपालिका– ९ को लाम्पातेसम्म पुग्न सकिने बताए । उनका अनुसार अरुणबाट अझै टाढाको दूरीमा पर्ने तुम्लिङटारसम्म जेटबोट सञ्चालन गर्न नदीको बीचमा रहेको दुइटा अब्स्ट्याकल (ढुंगा) ब्लास्ट गर्नुपर्ने र दूधकोसी (सुनकोसी)बाट दोलालघाट पुग्नका लागि एउटा ढुंगा ब्लास्ट गर्नुपर्ने छ ।

बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले दुई महिनादेखि व्यावसायिक रूपमा जेटबोट सञ्चालन गर्दै आएको छ । जेटबोटले भोजपुरका हतुवागडी, आमचोक, धनकुटाको सहिदभूमि गाउँपालिकासहित भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराह क्षेत्रसँग जोडिदिएको छ ।
जेटबोट सञ्चालक सदस्यमध्ये कवि राईले नागरिकको सुविधालाई ध्यानमा राखेर सरकारले नदीका केही अब्स्ट्याकलहरू पन्छाउने हो भने चतराबाट हिँडेर हप्तौं लाग्ने भोजपुर, खोटाङलगायतका पहाडी क्षेत्र जेटबोटबाट एकै घण्टामा पुग्न सकिने बताए । उनले भोजपुरको पावला, दुङमाना, पाङा, यूँ, वासिङ, पूर्णे, बयाङ, आमचोकसम्मका स्थानीय यात्रुहरू प्रत्यक्ष लाभान्वित हुने बताए ।

Comments