नेपालकै पहिलो पुनर्निर्माण कार्य सम्पन्न भएको गाउँमा स्वागत,’ लेखिएको द्वारबाट छिरेपछि एकपछि अर्को पाँच सय ६० वटा घरहरु नयाँ देखिन्छन् ।

जनगणनाको सूचाकाङ्कमा दोलखाको ओराङ जिल्लाकै सबैभन्दा पिछडिएको छ तर त्यही ओराङ निजी आवास पुनर्निर्माण सम्पन्न गर्नेमा देशकै पहिलो गाउँ बनेको छ । ‘नेपालकै पहिलो पुनर्निर्माण कार्य सम्पन्न भएको गाउँमा स्वागत,’ लेखिएको द्वारबाट छिरेपछि एकपछि अर्को पाँच सय ६० वटा घरहरु नयाँ देखिन्छन् । भूकम्प पीडित लाभग्राहीमा सूचीकृत सबैको घर निर्माण भैसकेकाले उक्त गाउँमा हर्षउल्लास छाएको छ ।

स्थानीयका अनुसार ओराङको अर्थ ‘अप्ठेरो ठाउँ’ । नाम जस्तै अप्ठेरो र विकटत ओराङमा भूकम्पले ढलेका निजी भवनहरु शतप्रतिशत पुनर्निर्माण भएको शनिबार घोषणा गरियो । त्यसपछि विगु गाउँपालिका– २ स्थित ओराङमा धमाधम भवन बुझ्ने र हर्षउल्लास मनाउने क्रम जारी छ । विगु गाउँपालिकाका कार्यकारी अधिकृत नवराज वलीले भन्नुभयो, ‘२०६८ सालको जनगणनामा ओराङ जिल्लाकै सबैभन्दा पिछडिएको देखिन्छ । तर यही गाउँका सूचीकृतमध्ये शतप्रतिशत परिवारले घर बनाएर उपभोग गरेकामा सबै खुसी छन् ।’ भूकम्प पछि सुरु भएको पुनर्निर्माण अभियानमा ओराङमा किन अगाडि भयो भन्ने कुराको पछाडि केही कारणहरु छन् । ‘भूकम्प पीडित अनुदान घरमै आइपुग्नु, प्राविधिकहरुको निरन्तर सहयोग रहनु र पर्म अर्थात आलोपलो श्रमदान अभियान चल्नु नै पुनर्निर्माणमा शतप्रतिशत सफलताका कारण हुन,’ खुसियालीमा आयोजित कार्यक्रममा उपस्थित पाउँनाहरुले प्रयोग भएको उक्त अभ्यासहरुलाई आ–आफ्नै भाषामा प्रशंसा गरे । उक्त गाउँमा कुल दुई हजार जनसंख्या छन् । त्यसमध्ये आधा जतिको सहभागिता रहेको कार्यक्रममा घर हस्तान्तरण प्रमाणपत्र बुझाइएको थियो । प्रमाणपत्र हातमा परेपछि ७२ वर्षीया लक्ष्मीकुमारी गुरुङले भनिन, ‘घरमै पैसा आयो । नाप्ने र हेर्ने कर्मचारी आएको आएै गरे । गाउँकै मान्छे लागेर घर बनाइदिए ।’ सुकुम्बासी तिनका लागि जमिनदेखि घरसम्मको व्यवस्था भएको छ । दोलखामा ७४ वटा वडाहरु छन् । जसमध्ये उक्त एउटा वडाको पुरै घरहरु पुनर्निर्माण गर्ने जिम्मा कारिता अन्तर्राष्ट्रिय संस्थालाई दिइएको थियो । अति नै दुर्गमको वडा ओराङ भाग पाएको उक्त संस्थाले सुरुमा १६ वटा टोलमा विभाजन गरी जागरण अभियान चलायो । तीन लाख प्राप्त गर्न सहज बनायो । ढुवानीका लागि थप ५० हजार भूकम्प पीडितलाई उपलब्ध गरायो ।

Comments