एजेन्सी। धर्मको नाममा साम्प्रदायिक दंगा भइरहेको अवस्थामा एक मुसलमान युवकले यतिसम्म महान कार्य गरेका छन् जसले अहिले पनि धर्मभन्दा पहिले मानवता हुने पुष्टि गरेको छ । ती युवकले अर्का एक हिन्दू युवकको ज्यान बचाउनको लागि रमजानको पवित्र महिनामा आफ्नो ‘रोजा’ तोडिदिएका छन् । रोजा मुसलमानहरुको निकै पवित्र धार्मिक क्रिया हो र यो अवधिमा निकै कडाइका साथ नियम पालना गरिन्छ । रमजानको पवित्र महिनामा कुनै मुस्लिमले रोजा तोड्नु सानो कुरा होइन त्यसमाथि एक हिन्दूको लागि रोजा तोड्नु त अझै आश्चर्यको कुरा हो ।
२० वर्षका हिन्दू युवक अजय विजल्वाणको ज्यान खतरामा देखेर आफ्नो रोजा तोड्ने ती मुसलमान युवकको नाम आरिफा खान हो । उनी भारतको देहरादुनका बासिन्दा हुन् । अजयको कलेजोमा संक्रमण भएको थियो र उनी आइसीयूमा थिए । डाक्टरले उनका परिवारलाई छिटोभन्दा छिटो रगत जुटाउन भने किनकि कलेजोमा संक्रमण भएका कारण उनको रगतमा प्लेटेलेट्सको संख्या निकै तीव्र गतिमा घटिरहेको थियो । अजयको लागि उक–एक मिनेट निकै महत्वपूर्ण थियो । थोरै ढिलो हुँदा उनको ज्यान जान सक्थ्यो ।
सबैभन्दा ठूलो समस्या त्यतिबेला पर्यो जब अजयलाई चाहिएको ए पोजेटिभ ग्रुपको रगत पाइएन । यस्तो अवस्थामा अजयका परिवार निकै समस्यामा परे । यत्तिकैमा एक व्यक्तिले अजयका पितालाई सामाजिक संजालको सहयोग लिन सुझाव दिए । अजयका पिताले सामाजिक संजालमा सहयोग माग्दै पोस्ट राखे । तत्कालै यो पोस्ट हेरेर आरिफ खान नामका व्यक्तिले अजयका पितालाई आफू रगत दिन तयार भएको भन्दै फोन गरे ।
आरिफ रगत दिन त तयार भए तर डाक्टरको सुझावअनुसार उनले रगत दिनुअघि केही खानुपथ्र्यो । आरिफ केही पनि खान असमर्थ थिए किनकि उनको रोजा चलिरहेको थियो । आरिफले केही नखाइ रगत लिन अनुरोध गरे तर डाक्टरले केही नखाइ रगत लिँदा आरिफको स्वास्थ्यमै खतरा हुने भन्दै रगत लिन मानेनन् । आफ्नो रोजा कायम राख्दा अजयको ज्यान जाने देखेपछि आरिफले रोजा तोड्ने निर्णय लिए । उनले डाक्टरको सुझावअनुसार दिइएका खानेकुरा खाए र रगत दिए । अहिले आरिफको सामाजिक संजालमा निकै प्रशंशा भइरहेको छ ।
Comments
Post a Comment