अमेरिकी चुनावी अभियानमा ‘घुसपैठ’बारे अनुसन्धान हुने



बीबीसी । अमेरिकाको न्याय मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार अभियानमा अनुचित राजनीतिक निगरानी गरिएको भन्ने दाबीमाथि छानबिन गरिने बताएको छ।

त्यसक्रममा संघीय अनुसन्धान ब्यूरो (एफबीआइ)का प्रतिनिधिहरूले ट्रम्पको चुनावी अभियानमाथि अनुचित तरिकाले जासुसी गरे वा नगरेको पत्ता लगाउने भनिएको छ।

उपमहान्यायाधिवक्ता रड रोजेन्स्टेनले कुनै प्रकारको घुसपैठ भएको प्रमाणित भएमा उचित कारबाही गरिने बताए। त्यसअघि राष्ट्रपति ट्रम्पले एक ट्विट सन्देशमार्फत् न्याय मन्त्रालयले आफ्नो चुनावी अभियानबारे छानबिन गर्न माग गर्ने बताएका थिए।

संघीय अनुसन्धान ब्युरो एफबीआइका एक प्रतिनिधिले ट्रम्पका प्रचार प्रसार सहयोगीसँग भेटघाट गरेको भन्ने समाचार सार्वजनिक भए लगत्तै ट्रम्पले त्यसबारे आधिकारिक छानबिन हुनुपर्ने माग गरेका हुन्।

एफबीआइका अधिकारीहरूले चाहिँ ट्रम्पको अभियान र रुसबीच सम्पर्क भएको भन्ने जानकारी प्राप्त भएपछि मात्र अनुसन्धान थालिएको बताएका थिए।

ट्रम्पको चुनावी अभियानका विभिन्न पक्षमाथि अनुसन्धान चलिरहेको छ। उनको चुनावी प्रचारप्रसारको क्रममा रुससँग साठगाँठ भएको आरोप समेत लागेको छ।

ट्रम्पले आफ्नो चुनावी अभियानबारे छानबिन गर्न उनी अघिको ओबामा प्रशासनले एफबीआइलाई आदेश दिएको थियो वा थिएन भनी छानबिन गर्न माग गरेका छन्। छानबिनपछि तथ्य कुरा बाहिर आउने न्याय मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

Comments