मंगलबारदेखि लागेको डढेलो हुरीबतासका कारण नियन्त्रणमा आएको छैन ।



सल्यान — शारदा नगरपालिका–११, हिवल्चाका केही सामुदायिक वनमा लागेको डढेलोका कारण पाँच सय बढी हेक्टर वनक्षेत्रमा क्षति भएको छ । मंगलबारदेखि लागेको डढेलो हुरीबतासका कारण नियन्त्रणमा आएको छैन हुरीबतास चलेका कारण आगो जंगलभरि फैलिँदै गएको उपभोक्ताले जनाएका छन् । चारैतिर धूवाँ र आगोको लप्को फैलिएपछि स्थानीयले नियन्त्रणमा लिन नसकेका हुन् । डढेलोका कारण जडिबुटी, रुख तथा बिरुवा, जंगली जनावरमा क्षति पुगेको वन अधिकृत मेघनाथ काफ्लेले बताए । डढेलोका कारण सामुदायिक वन नजिकैका बस्तीहरू प्रभावित भएको उनको भनाइ छ । उनका अनुसार डढेलो समयमै निभाउन नसक्दा फैलिएको धूवाँले वातावरण प्रदूषित बनेको छ भने गर्मी फैलिएको छ ।

डढेलो कसले लगाएको भन्ने बारेमा अनुसन्धान भइरहेको उनले जनाए । ‘डढेलोले वनक्षेत्र मात्र नभई मानवीय स्वास्थ्यमा ठूलो क्षति पुर्‍याएको छ,’ उनले भने, ‘स्थानीयले जथाभावी वन क्षेत्रमा आगो लगाउँदा नियन्त्रणमा लिन समस्या भएको छ ।’ एक महिनाअघि छत्रेश्वरी सामुदायिक वनमा लागेको डढेलोका कारण डेढ दर्जन घर जलेर नष्ट भएका थिए ।

प्रत्येक वर्ष स्थानीयले खैराबाङभन्दा तल्लो क्षेत्रका वनमा आगो लगाउँदा ठूलो क्षति भएको उनले जनाए । काफ्लेका अनुसार स्थानीयले घाँस राम्रो उम्रने भन्दै सामुदायिक वनमा आगो लगाउने गरेका छन् । एक साताअघि मूलखोलामा तीन दिनसम्म लागेको डढेलोका कारण तीन सय बढी हेक्टर वनमा क्षति भएको थियो । स्थानीय देवबहादुर खड्काले डढेलोका कारण सामुदायिक वन क्षेत्र बीचमा रहेका केही बस्ती जोखिममा परेको जनाए । उनका अनुसार डढेलो निभाउन प्रयास भइरहे पनि हावा लागेका कारण सफल हुन सकेको छैन ।

Comments