काठमाडौं । समाज जति नै आधुनिक बन्दै गएपनि महिलाहरुलाई त्यत्ति सहज हुन सकेको छैनन् । एक पारिवारिक वातावरण र अर्काे महिलाको शारीरिक तथा प्राकृतिक नियम । आधुनिक र मानव निर्मित नियम बदल्न सकिएला तर, प्राकृतिक नियम बदल्न गाह्रो छ ।
सारा समाजलाई चेतना जगाउने महिला कलाकार विवाहपछि आफ्नो कला र पेसालाई अगाडि बढाउन धेरै पापड बेल्नु पर्छ । तर, कतिपय महिला कलाकारहरु विवाहपछि विभिन्न कारणले पेसा छाड्ने गरेका छन् ।
एक समय चर्चामा रहेका केही नेपाली नायिकाहरु विवाहपछि गुमनाम भएका छन् । उनीहरु चलचित्र क्षेत्रलाई निरन्तरता दिन नसक्नु धेरै कारण छन् ।
कुन कुन नायिका भए विवाहपछि गुमनाम :
ऋचा घिमिरे
नेपाली फिल्म क्षेत्रमा निकै चर्चित नायिकाको नाम हो ऋचा घिमिरे । उनलाई ‘ब्ल्याक व्यूटी’ भनिन्थ्यो । तर, हाल उनी अमेरिकामा छिन् । फिल्म निर्देशक शंकर घिमिरेसँग विवाह गरेकी उनले पतिसँग मिलेर पाँच वर्ष अघि बनाएको ‘तुलसी’ हालसम्म रिलिज भएको छैन । बच्चा जन्माउने समयमा अमेरिका पुगेका उनीहरु उतै बसेका छन् ।
गरिमा पन्त
नेपाली चलचित्र क्षेत्रमा चिनिएको नायिकाको नाम हो गरिमा पन्त । धेरै फिल्म गरेपनि झोलाले सबैका माझ परिचित गराएको गरिमा विवाहपछि गुमनाम भएकी छन् । अभिनयमा अब्बल मानिने गरिमाले धेरै अवार्ड पनि पाइन् । तर, युरोपमा बस्दै आएका गैर आवासिय नेपाली हरि शर्मासँग विवाह गरेपछि उनी चलचित्र क्षेत्रमा देखा परेकी छैनन् ।
रेजिना उप्रेती
विवाहपछि गुमनाम भएकी नायिका मध्येमा रेजिना उप्रेती पनि पर्छिन् । उनी २०७० फागुनमा प्रेमी सुरज पोखरेलसँग लगनगाँठो कसिन् । त्यसपछि गृहस्थ जीवनमै अल्झिएकी उनी चलचित्र क्षेत्रमा देखा परेकी छैनन् । ‘वरदान’ नामक फिल्ममा लगानी समेत गरेकी रेजिना चलचित्र कलाकार संघ उपाध्यक्षमा निर्वाचित समेत भएकी थिइन् ।
अरुणीमा लम्साल
नायिका अरुणीमा लम्साल हाल फिल्म क्षेत्रमा गुमनाम छिन् । उनी पनि विवाहपछि गुमनाम भएकी हुन् । विवाहपछि अमेरिका पुगेकी अरुणीमाले पतिलाई डिभोर्स दिइसकेकी छन् । एक सन्तानकी आमा रहेकी उनले फेरि फिल्म क्षेत्रमा आउने या नआउने केही बताएकी छैनन् ।
सुमिना घिमिरे
नेपाली फिल्म उद्योगमा सम्भावनायुक्त नायिका सुमिना घिमिरेले पनि विवाहपछि आफ्नो अभिनय पेसालाई अगाडि बढाउन सकिनन् । ‘दुलही’ डेब्यू गर्ल सुमिना अहिले के गर्दैछिन् उनका दर्शकलाई अत्तोपत्तो छैन ।
Comments
Post a Comment