
शसस्त्र युद्ध सकिएको १२ वर्ष नाघिसक्दासम्म पार्टी कार्यालयका तस्बिर र साइनबोर्डमा बाँचिरहेका माओत्सेतुङको अब वैचारिक अन्त्य भएको छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र ३ जेठ २०७५ को मदन–आश्रित स्मृति दिवसका दिन नेकपामा परिणत भएसँगै आफ्नो मार्गदर्शक सिद्धान्तबाट माओवाद हटाइदिएको छ, अनि ब्यानरबाट माओको नाम र तस्बिर।स्मरण रहोस्, प्रचण्डलाई संशोधनवादी मान्दै उनीबाट छुटेर गएका मोहन वैद्य ‘किरण’ले पनि यसअघि नै आफ्नो पार्टीको नामबाट माओवाद हटाइसकेका छन्।
आफूलाई वैद्यभन्दा क्रान्तिकारी दाबी गर्ने विप्लव समूहले समेत फागुन ०७३ मै माओवादी नाम झिकिसक्यो।
अनि, माओवादी युद्धका ‘आर्किटेक्ट’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि ९ असोज २०७२ मै रातो स्टिकर टाँसेर बाहिरिए। अर्थात्, अब नेपालमा औपचारिक रूपमा माओवादी पार्टी छैन। आज प्रकाशित नेपाल राष्ट्रिय साप्ताहिकमा माधव बस्नेतले माओवादबारे आवरण स्टोरी लेखेका छन्।
फागुन २०५१ मा नेकपा एकता केन्द्रबाट विभाजित समूहले आफ्नो पार्टीको नाम नेकपा माओवादी राखेको थियो। तर, आफूले विगतमा संसदवादी बुर्जुवा पार्टी भनेर आरोप लगाउँदै आएको एमालेसँग एकिकरणसँगै प्रचण्ड माक्र्सवाद–लेनिनवाद मात्रै स्वीकार गर्न तयार भए। र, ४४ वर्षपछि अन्ततः माओवादलाई औपचारिक रूपमै तिलान्जली दिए।
Comments
Post a Comment