पूर्वराजासँग ओलीको नयाँ प्रस्ताव, निर्मल निवासमा यस्तो तयारी



नेकपा माओवादी केन्द्रसँग एकीकरण गरी शत्तिशाली पार्टी (नेपाल कम्युनिस्ट पार्टी) को अध्यक्ष बनेका प्रधानमन्त्री केपी शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि हमला बोलेका छन्। ओलीले ज्ञानेन्द्रका लागि अस्वीकार्य हुने प्रस्ताव अघि सारेका हुन्।

उनले पूर्वराजा शाहलाई गणतन्त्र स्वीकार गरी गणतन्त्र दिवस तयारी समारोह समितिमा आबद्ध हुन आग्रह गरेका हुन्। शुक्रबार गृह मन्त्रालयमा बसेको गणतन्त्र दिवस समारोह तयारी समितिको बैठकमा बोल्दै उनले व्यंग्यात्मक शैलीमा ज्ञानेन्द्रलाई सहज रुपमा आउन आग्रह गरेको स्रोतले बतायो। आगामी जेठ १५ गते सरकारले गणतन्त्र दिवस मनाउँदैछ। त्यसकै तयारीका लागि प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा आफैं पूर्वराजालार्इ निर्मल निवासमै भेटेर औपचारिक प्रस्ताव राख्ने जानकारी उनले गराएका थिए। ‘अनेक खालमा मनसायहरु, मनसुवाहरु छाडेर उहाँहरु पनि यो समारोह समितिमा बसेर खुुसीयाली मनाउन आए हुन्थ्यो,’ ओलीले भने, ‘बेकारको झन्झटमा लाग्नुभन्दा यसमा उहाँलाई हाइसन्चो हुन्छ। यसबारे म उहाँसँगै भेटेर कुरा गर्न चाहन्छु।’

विष्णुको अवतार भन्दाभन्दा पूर्वराजामा हो कि भन्ने भ्रम परेको हुन सक्ने भन्दै ओलीले जनताको उपलब्धिमा सहभागी हुन गृह मन्त्रालयको बैठकबाटै आह्वान गरेका हुन्।

ओलीले हिन्दु धर्म र राजतन्त्रलाई जोडेर प्रचार गर्नेहरुविरुद्ध आक्रोश व्यक्त गर्दै राजतन्त्रसँग हिन्दु धर्मको कुनै सम्बन्ध नभएको तर्क राखे। राजतन्त्रलाई धर्मसँग जोडेर प्रचार गर्नेहरु पाखण्डी भएको उनको टिप्पणी छ। ‘२ सय ४० वर्षको राजतन्त्र र सनातन हिन्दु धर्मको इतिहास एउटै होरु’ उनले भने, ‘यो भ्रम हटाउन जरुरी छ।’

Comments