भारतको अतिक्रमण पुन: यसरि गायब परियो सिमा क्षेत्रका १६ पिलर



भारतसँगको जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १ सय ३ साना पिलरमध्ये १६ वटा गायब भएको पाइएको छ । जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने ९ जंगे पिलर भने भेटिएका छन् । सीमामा पर्ने सबै ९ जंगे पिलर भेटिएको सर्भेबाट फर्किएका प्रहरी हवल्दार काजीमान लिम्बूले जानकारी दिए । तीमध्ये दुई पिलर जीर्ण छन् । एउटा जंगे पिलर पहिरोका कारण जोखिममा परेको पाइएको उनले बताए ।





९ मध्ये एउटा जंगे पिलर जोखिममा छ, अरू दुई पिलर सामान्य मर्मत गर्नुपर्ने अवस्थामा छन्,’ प्रहरी हवल्दार लिम्बूले भने, ‘पाँचथरको सीमावर्ती क्षेत्रमा एउटा मात्र मझौला पिलर छ, त्यो पनि मर्मत गर्नुपर्ने देखिएको छ ।’ पाँचथरमा पर्ने सीमास्तम्भको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार काजीमान लिम्बू र प्रहरी जवान चन्द्र चौहानले सर्भे गरेका हुन् । उनीहरू पाँचथरको माथिल्लो सीमा ताप्लेजुङदेखि तल्लो सीमा इलामसम्म पैदल हिँडेका थिए ।


हवल्दार लिम्बूका अनुसार पाँचथरको सीमामा १ सय ३ साना पिलरमध्ये ८७ वटा मात्र भेटिए । चार वटा पिलर गाडिएको स्थानसमेत फेला परेन । १२ पिलर राखिएको ठाउँ फेला परे पनि सीमास्तम्भ भने छैनन् । भेटिएका सबै ८७ पिलर मर्मत गर्नुपर्ने पाइएको लिम्बूले बताए ।


पाँचथरको पूर्वी भाग उत्तरमा ताप्लेजुङदेखि दक्षिणमा इलामसम्म भारतमा जोडिएको छ । सीमाक्षेत्र उच्च पहाडी भूभाग हो । यो क्षेत्रमा पहिलोपटक सीमा सर्भे गरिएको हो ।


दुई प्रहरीको टोलीले सीमास्तम्भको अवस्था, सीमा क्षेत्रको अवस्थालगायत अध्ययन गरको हो । अध्ययनले तत्काल सीमास्तम्भ मर्मत र संरक्षण गर्नुपर्ने देखिएको छ । तीन प्रकारका पिलरमध्ये जंगे र मझौलाभन्दा साना पिलरको संरक्षण तत्काल थाल्नुपर्ने अवस्था छ ।


प्रहरी टोलीले दुई चरणमा सीमा सर्वेक्षण गरेको थियो । पहिलो चरणमा पाँचथरको याङवरक गाउँपालिकास्थित मेजरडाँडादेखि ताप्लेजुङसँग सीमा जोडिएको तिम्बुपोखरीसम्म अध्ययन गरेको थियो । दोस्रो चरणमा पाँचथरको फालौट हुँदै इलामको सीमासम्मको पैदल यात्रा गरेका थिए । उच्च पहाडी क्षेत्रमा अत्यधिक चिसोले यात्रा निकै कष्टकर भएको उनीहरूको भनाइ छ ।


उच्च पहाडी क्षेत्रमा १५ दिन पैदल
सीमास्तम्भ सर्वेक्षणका क्रममा जिल्ला प्रहरी कार्यालयका दुई प्रहरीले उच्च पहाडी क्षेत्रमा १५ दिन पैदल यात्रा गरे । प्रहरी हवल्दार काजीमान लिम्बू र प्रहरी जवान चन्द्र चौहानले दुई चरणमा भ्रमण गरेका थिए । पहिलो चरणमा ४ देखि १४ फागुनसम्म र दोस्रो चरणमा १७ देखि २१ वैशाखसम्म सीमाक्षेत्रको अध्ययन गरेको लिम्बूले बताए ।

Comments