सुरेश छन्त्याल/बागलुङ मध्याह्नको चर्को घाम, वरिपरि छाता ओढ्नेहरूको भिडकाबीच पाँचजना किशोरी बिहानैदेखि नाचिरहेका थिए । मेला हेर्न आएका प्रायः सबैका ध्यान ती किशोरीको नाचले तानिरहेको थियो । आँखा नखोली एउटै शैलीमा १८ घन्टासम्म लगातार नाचिने घाटुनाच बागलुङका मगर समुदायमा नाच्ने गरिन्छ । पछिल्लो समय घाटुनाच पर्यटकको आकर्षण बन्दै गइरहेको छ । पर्यटकको स्वागतका लागि पनि यो नाचको आयोजना गर्न थालिएको छ ।
शास्त्रीय नाच विषेशतः जिल्लाको गलकोट नगरपालिका १० पाण्डवखानीमा यो नाच नाच्ने गरिन्छ । पाण्डवखानीको सती घाटुनाच अहिले पर्यटकको आकर्षण बन्दै गएको छ । यहाँ आउने पर्यटकका लागि घाटुनाचबाट नै स्वागत गर्न थालिएको छ । ‘पर्यटकहरू आउँदा सती घाटुनाचलाई विशेष प्राथमिकता दिने गर्दछौँ,’ स्थानीय पत्रकार सुरेश छन्त्यालले भने, ‘देशका केही सीमित ठाउँहरूमा मात्रै नाचिने भएका कारण पनि घाटुनाचमा पर्यटकको आकर्षण बढेको छ । विशेषगरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटुनाच मातातीर्थ औंँसीदेखि मध्य वैशाखसम्म नाचेर जेठको २० गते समापन गर्ने गरिन्छ । घाटु एक शास्त्रीय नाच हो ।
गीतबाटै ढलाउने र उठाउने घाटुनाच नाच्ने र गाउने गरी करिब १५ देखि २० जनाको समूह हुने गर्दछ । यो नाचमा कन्यालाई गीतबाटै बेहोस बनाई ढलाउने र गीतबाट होसमा ल्याई उठाउने गरिन्छ ।
देवीदेवताको नाम गाइन्छ घाटुसरीका कन्याहरू सिंगारपटार गरेर नाच्ने स्थानमा आएपछि गुरुले विभिन्न देवीदेवताको नाम लिँदै पश्चिमी भाकामा घाटु गाउन थाले । कन्या नाच्नुभन्दाअघि अक्षेतापातीले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरी कन्याको आँखा बन्द भई नचाउने प्रचलन रहेको घाटु गुरु गिरिप्रसाद थापाले बताए । कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मंगल चरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धर्ती र आकाशलाई साक्षी राखिन्छ ।वियोगान्त कथामा आधारित विशेषतः राजा परशुराम र चम्पावती रानीको वियोगान्तमा आधारित रहेर घाटुनाच नाचिने कथन रहेको छ । राजा परशुराम सिकार खेल्न गएको, उनको प्रेम, दुःख, मृत्यु र रानीहरू सती गएको कथावस्तुमा आधारित सती घाटुनाचका लागि कन्या आवश्यक पर्छ । कन्याहरूको आँखा बन्द नभएसम्म देवीको नाम जप्ने, देवीहरूको साथमा प्राकृतिक आकाश, धरती र आमालाई साक्षी राख्ने र देवीले पत्याएपछि मात्र घाटुनाच सुरु गरिने प्रचलन छ । सती घाटुमा नाच्ने कन्याहरूमा देवी चढ्ने भएकाले नाच्ने समयमा बेहोसी अवस्थामा हुन्छन् घाटुगुरु थापाले भने, ‘यो अवस्थालाई कुसुन्डा भनिन्छ, सती घाटु वियोगान्त कथामा आधारित नाच हो ।’ गीतमा घोडा कुदाएको, लडाइँ गरेको, रोपाइँ गरेको, ढकिया बुनेको, राजारानीको विवाह भएको विषयवस्तु पनि आउने गर्दछ । हिन्दू धर्मबाट प्रभावित उक्त नाचमा राजा परशुराम र रानी यमवतीको कथालाई गीत र नाचमा उतारिन्छ ।
तीन सय वर्ष पुरानो विशेष गरी गुरुङ र तमाङ संस्कृतिमा रहेको घाटु नाच यहाँका मगर समुदायले पनि परापूर्वकालदेखि नाच्दै आएको पाइएको छ । बागलुङमा तत्कालीन गलकोटे राजाको पालादेखि नै यो नाच नाच्न थालिएको पौराणिक कथन रहेको छ । करिब तीन सय वर्ष पुरानो नाच संरक्षणका लागि यहाँका युवा अहिले जुटिरहेका छन् । विशेषत पाण्डवखानीको माथि भालखानी, कालखानी भन्ने ठाउँ छ । निगालोको ढोर बालेर खानी खनिएकाले त्यस ठाउँलाई भालखानी, कालखानी भनिन्छ । त्यो ठाउँमा खानी खन्ने क्रममा ३ सय वर्षअगाडि कामको सिलसिलामा त्यहाँ आउँदा मनोरञ्जनको रूपमा सती घाटु नाच्न थालिएको भन्ने भनाइ रहेको छ ।
Comments
Post a Comment