इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातबाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
राती १२ः१५ बजेभन्दाअगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गर्दै इलाका प्रहरी कार्यालय इटहरीले आगो फैलिएपछि घटना थाहा भएको र तत्कालै इटहरी धरान इनरुवा र मोरङको सु्न्दरहरैचाको चारवटा बारुणयन्त्रले राति २ बजे आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले बताएको छ।
प्रहरी निरीक्षक राजन कार्कीका अनुसार आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयवासी, व्यापारी व्यवसायीलगायतको सक्रिय सहभागिता रहेको थियो। पुरुषोत्तम काफ्लेको घरमा भएको पसल आगलागीमा सबैभन्दा बढी समुद्र राईको तयारी कपडा पसलको झण्डै रु दुई करोड बढीको नोक्सानी भएको उनले बताएको प्रहरीले जनाएको छ ।
यसैगरी उक्त आगलागीमा समुद्र राईसँगैका सटर पसल गर्दै आएका गजराज श्रेष्ठको पनि लाखौँको तयारी कपडा पसलमा नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको र अझै क्षतिको एकीन विवरण लिने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
एक वर्षअघि पनि अहिले आगलागी भएको ठीक उत्तरतर्फ करोडौँको नोक्सानी हुने गरी आगलागी भएको थियो। आगोलाई समयमा नै नियन्त्रण गर्न सफल भएकाले अरु ठूलो नोक्सानी हुन नपाएको बताइएको छ । आगलागी भएको स्थान इटहरीको घना व्यापारिक क्षेत्र हो। रासस
Comments
Post a Comment