
बैंग्लोर — भारतको कर्नाटक राज्यको मुख्यमन्त्रीमा जनता दल (सेकुलर) का नेता एचडी कुमारस्वामीले बुधबार शपथ लिएका छन् ।कुमारस्वामी भारतीय कंग्रेससँगको गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका हुन् । त्यसैगरी, कंग्रेसका जी परमेश्वर उपमुख्यमन्त्री बनेका छन् । उनलाई कर्नाटकका गभर्नर बजुभाई वालाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । कुमारस्वामी दोस्रोपटक कर्नाटकको मुख्यमन्त्री बनेका हुन् । यसअघि उनी भाजपासँगको गठबन्धनमा सन् २००६ मा २० महिना मुख्यमन्त्री बनेका थिए ।
शपथग्रहण समारोहमा सत्ताधारी भाजपाको विरोध गर्ने कपितय नेताहरूको समेत उपस्थिति थियो । कार्यक्रममा विपक्षी दलहरूले भाजपाविरुद्ध ऐक्यबद्धतासमेत जनाएका छन् ।
समारोहमा यूपीए अध्यक्ष सोनिया गान्धी, कंग्रेस अध्यक्ष राहुल गान्धी, बीएसपी नेता मायावती, समाजवादीका अध्यक्ष अखिलेश यादव, जनता दल (युनाइटेडका) शरद यादव, भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरी, एनसीपी नेता शरद पावर र आरजेडीका तेजस्वी यादवलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जी, दिल्लीका अरविंद केजरीवाल, आन्ध्र प्रदेशका एन चन्द्रबाबु नैडु तथा केरलाका पिनरायी विजयान पनि शपथग्रहणमा उपस्थित थिए । अरविन्द केजरीवाल, मायावती तथा सीताराम यचुरी कंग्रेसका कट्टर आलोचकका रूपमा चिनिन्छन् ।
यद्यपि, भाजपाले भने ‘कालो दिन’ संज्ञा दिँदै समारोह बहिस्कार गरेको थियो । यसअघि मुख्यमन्त्रीमा बनेका भारतीय जनता पार्टी (भाजपा) नेता बीएस यदियुरप्पाले ५५ घण्टापछि राजीनामा दिएका थिए । यदियुरप्पाले संसद्मा विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था आएपछि पद छाडेका थिए ।
गत बिहीबार मुख्यमन्त्रीमा चुनिएका यदियुरप्पाको दल भाजपाले निर्वाचनमा संसद्को २ सय २२ सिटमध्ये १ सय ४ जितेको थियो । उक्त संख्या सरकार गठनका लागि चाहिनेभन्दा ८ कम हो । निर्वाचनमा कंग्रेसले ७८ र जनता दलले ३८ स्थान जितेका थिए ।
यसअघि गभर्नर वालाले संसद्को ठूलो दलको नेताका हैसियतमा यदियुरप्पालाई मुख्यमन्त्रीमा नियुक्त गर्दै विश्वासको मतका लागि १५ दिनको समय दिएका थिए । तर त्यसको विरोधमा सर्वोच्च अदालत पुगेको कंग्रेस र जनता दलको गठबन्धनको मुद्दाको फैसलामा विश्वासको मत लिन यदियुरप्पालाई शनिबार ४ बजेसम्म समय दिए पनि उनी असफल भएपछि राजीनामा दिन बाध्य भएका हुन् ।प्रकाशित : जेष्ठ १०, २०७५ ०८:५५
Comments
Post a Comment