काठमाडौं : भारतीय क्रिकेटका कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोर इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सिजनबाट पाखा लागेको छ । शनिबार साँझ भएको खेलमा प्लेअफको सम्भावना कायमै राख्न जित्नैपर्ने दबाबमा रहेको बेंग्लोर ३० रनले पराजित भएपछि उसको खेल यात्रा टुंगिएको हो ।
बैंग्लोर शनिबार साँझको खेलमा राजस्थान रोयल्ससँग ३० रनले पराजित भएको हो । १ सय ६५ रनको लक्ष्य पछ्याएको बेंग्लोरले खेल सकिन ४ बल बाँकी हुँदा १ सय ३४ रन मात्र नाएर अलआउट भयो । बेंग्लोरका लागि एबी डीभिलियर्सले ५३ र पार्थिब पटेलले ३३ रन बनाए पनि अन्य ब्याट्सम्यान जम्न सकेनन् । बेंग्लोरका ६ जना ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा उसलाई यो सिजनमा ठूलो झड्का लागेको हो । राजस्थानका श्रेयस गोपालले ४ विकेट लिंदै बेग्लोरलाई दबाबमा राखे । त्यस्तै, जयदेव उनाद्कट र लाफलिनले २–२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको चुनौती पेश गरेको थियो । उसका लागि राहुल त्रिपाठीले अविजित ८० रन बनाए । त्यस्तै कप्तान अजिंक्या रहानेले ३३ र हेनरिक क्लासेनले ३२ रन बनाए । राजस्थानका समेत अन्य ब्याट्सम्यान जम्न सकेनन् ।
Comments
Post a Comment