दुर्गा मन्दिरबाट ज्ञानेन्द्रले भने- नयाँ पार्टी खोल्दिनँ



गौर, १२ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटका स्थानीयवासीको स्वागतले आफू खुशी रहेको बताएका छन् । रौतहटको मत्सरीमा रहेको दुर्गा मन्दिरमा शुक्रबार दिउँसो पूजापाठपछि यस्तो बताएका हुन् । पूजापछि संचारकर्मीको प्रश्नको जवाफमा आफूले नयाँ पार्टी खोल्ने कुनै सोच नराखेको बताउँदै आफ्नो भूमिकाको बारेमा जनताले नै मूल्यांकन गर्ने प्रतिक्रिया उनले दिएका छन् ।

‘पार्टी खोल्ने विषयमा कुनै सोच छैन। मेरो भूमिकाको विषयमा जनताले आफैँ मूल्यांकन गर्ने विश्वास लिएको छु’, ज्ञानेन्द्रले भने। रौतहटको दुर्गा भगवती गाउँपालिका ३ स्थित मत्सरीमा रहेको प्रसिद्ध दुर्गा मन्दिरमा ज्ञानेन्द्रले पुजा गरेका हुन्। पूर्वराजा आउने जानकारी पाएपछि स्थानीयको भिड लागेको थियो।

करिब तीन किलोमिटर लामो लाइन लागेर स्थानीयले पूर्वराजाको स्वागत गरेको थिए। शाहले दिउँसो करिब चार बजे आधाघण्टा पूजा गरे। मन्दिर समितिका तर्फबाट शाहलाई नागरिक अभिनन्दन समेत गरिएको छ। स्थानीय मनोज झा र रुद्रनारायण झाले अभिनन्दन पत्र हस्तान्तरण गरे।

विभिन्न दलमा आवद्ध भएपनि एकजुट भएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गरिएको दुर्गा मन्दिर मत्सरीका पूजा व्यवस्थापन समितिका संयोजक विनय झाले जानकारी दिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Comments